फोटो : गंगा खड्का (लघुकथा)

फोटो : गंगा खड्का (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,माघ २८  ।

‘कहाँ अहिलेको जमानामा नि सामान्य मोबाइलले फोटो खिच्ने ? सीमाको आइफोनले खिचौँ न ।’ रमिताले फोटो खिच्नको लागि निकालेको फोन पन्छाउँदै सुधाले भनी ।
‘भाइको बिहेको फोटो देख्दा नि राम्रै हुनुप¥यो नि । ल अब उस्तै रङको सारी लाउनेहरु जतिको एउटा फोटो खिचिहालौँ त !’ सुधाको बोलीले फोटो खिच्नको लागि अगाडि बढिसकेकी रमिताको पाइलालाई पछि हटायो ।
‘अब चाहिँ रानीहार लाउनेलाउनेको पालो’ सीमाको विचारले दोस्रो फोटोमा पनि रमिता अटाइन ।
‘आहा ! फोटाहरु क्या राम्रा आएछन् ।’ उनीहरू झुरुप्प भएर फोटो हेर्न थाले ।
‘ओइ रमिता ! तँ पनि आइज न फोटो हेर्न ! हाम्रो फोटो त कुनै हिरोइनको भन्दा कम आएनछ, बुझिस् ?’
सीमालाई कटाक्ष गर्दै रमिताले भनी, ‘जसको फोटो मेरो दिलदिमागमा फिका बनिसकेको छ, उसको फोटो बाहिर जति नै सुन्दर भए नि मेरो लागि के अर्थ भयो र ?’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।