प्रधानमन्त्रीसामु पाठेघर !

गत साता प्रधानमन्त्री कार्यालयमा महिला नेत्रीहरूको टोली पुग्यो । भेटघाटपछि प्रतिनिधिमण्डलले वृद्ध प्रधानमन्त्रीसँग फोटो खिच्यो । त्यहीबेला एक नेत्रीले भनिन्, ‘प्रधानमन्त्रीज्यू, ख्याल गर्नुहोला । हामीसँग अरू केही नभए पनि पाठेघर छ, पाठेघर ।’ गज्जबसँग हाँसोको फोहोरा छुट्यो । जीवनमा विवाह नै नगरी बसेका सुशीलदा’लाई त्यो कुराको के स्वाद † बरु उनकी भतिजी पर्ने सुजाताले तत्काल प्रतिक्रिया जनाइन् ‘कस्ती आइमाई होला !’ प्रधानमन्त्रीलाई यस्तो भाषामा चुनौती दिने अरू कोही नभएर उनै हिसिला यमी हुन् । उनीहरू नागरिकता सम्बन्धमा कुरा गर्न प्रमसमक्ष गएका थिए । अब बन्ने संविधानसभामा सन्तानले नेपालको नागरिक बन्न ‘आमा वा बा’ भनेर कित्ताकाट नै हुनुपर्ने प्रावधान सामेल गर्नुपर्ने प्रतिनिधिमण्डलको माग थियो । प्रधानमन्त्रीले ‘र’ झिकेर आइन्दा ‘बाबु या आमा’ मध्ये कुनै एकजना नेपाली भए सन्तान पनि नेपाली नागरिक हुनेमा ढुक्क हुन वचन दिए । टोलीमा पुष्पा भुसाललगायत १० जना अगुवा सहभागी थिए ।
यसैबीच, सरकारले १ वर्षभन्दा बढी दरबन्दी रिक्त भएर पद नै खारेज हुन लागेपछि बेइजिङस्थित दूतावासको मिनिस्टर काउन्सिलर पदमा निर्मल काफ्लेलाई पठाउने भएको छ । अमेरिकाको न्युयोर्कस्थित मिसनमा तैनाथ सेवा अधिकारी अर्को वर्ष फर्केलगत्तै उक्त स्थान सम्हाल्न पाउनेगरी काफ्लेलाई चीन पठाउन लागिएको हो । यसअघि लोकबहादुर थापालाई त्यता जान भनिएकोमा उनले राहदानी विभागमै बस्न रुचाएपछि ती हाकिमले चढ्ने नयाँ गाडी किन्न निकासा भएको ५२ लाख रकम फ्रिज भइबसेको छ । काफ्ले डेढ हप्तामा जिम्मेवारी सम्हाल्न जाँदै छन् । अर्का सहसचिव गणेश ढाकाललाई कन्सुलर सेवा विभागमा पदस्थापन गरिएको छ ।

जनआस्था साप्ताहिक बाट 

तपाइँको प्रतिक्रिया ।