‘लिपुलेक’ सम्झौताविरुद्ध हस्ताक्षर अभियान

५ असार । नेकपा (एमाले) निकट विद्यार्थीको सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी म्याग्दीले आजदेखि लिपुलेक सम्झौताविरुद्ध हस्ताक्षर सङ्कलन अभियान सुरु गरेको छ ।

नेपालको भूमिका विषयमा सम्झौता गर्दा सम्बन्धित मुलुकलाई उपेक्षा गरिएको भन्दै सो सम्झौता खारेज गरिनुपर्ने मागसहित हस्ताक्षर सङ्कलन गरिएको हो ।

हस्ताक्षर गर्दै अनेरास्ववियु केन्द्रीय सदस्य नरेश रोकायाले भारत र चीन सरकारले गरेको लिपुलेक सम्झौता खारेजीका लागि सङ्गठनले दबाबस्वरुप अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले नेपाललाई बेवास्ता गरी गरेको अनैतिक सम्झौता खारेज नभए कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

सोही कार्यक्रममा बोल्दै अनेरास्ववियु गण्डकी अञ्चल कोषाध्यक्ष आशिर्वाद सुवेदीले भारत र चीन सरकारले नेपालका विरुद्ध गरेको लिपुलेक सभmौता तत्काल खारेज हुनुपर्ने माग गर्नुभयो ।

अनेरास्ववियु म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बेनीमा सञ्चालन गरिएको अभियानमा हजारौँले हस्ताक्षर गरेको बताउँदै उक्त हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाइने जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।