अभियानअन्तर्गत २२ हजार ५६७ नयाँ अस्थायी घर निर्माण
काठमाडौँ, ३ असार । नेकपा (एमाले)ले सञ्चालन गरेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानअन्तर्गत अहिलेसम्म २२ हजार ५६७ अस्थायी घर निर्माण भएका छन् ।
जारी अभियानबारे जानकारी गराउन आज पार्टी मुख्यालय, बल्खुमा आयोजित पत्रकार सम्मेलनमा अहिलेसम्म २२ हजार ५६७ अस्थायी घर र ९७८ भन्दा बढी विद्यालयका अस्थायी भवन बनाइएको बताइयो । यस्तै, २० हजार ४४८ भन्दा बढी क्षतिग्रस्त घर संरचनाका भग्नावशेष हटाई व्यवस्थापन र सरसफाइ गरिएको पार्टीले जनाएको छ ।
लाखौँ पीडितको मनमा आशा र विश्वासको बलियो आधार निर्माण गर्न अभियान सफल रहेको पार्टीका कार्यबाहक अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले जानकारी गराउनुभयो ।
सरकारले यही असार १० गते गर्ने अन्तर्राष्ट्रिय दातृ सम्मेलनमा देशको यस विपत्तिलाई पार लगाउने स्पष्ट खाका प्रस्तुत गरिने उहाँले बताउनुभयो ।
“संविधान जति छिटो आउँछ, त्यति छिटो पुनःनिर्माण अघि बढ्छ,” उहाँले भन्नुभयो – “संविधान निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाइनेछ ।”
पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भूकम्प प्रभावित क्षेत्रमा भएका क्षतिको स्पष्ट तथ्याङ्क नआउँदा राहत वितरणलगायतमा समस्या देखिएका कारण तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो ।
भूकम्पका कारण कैयौँ बस्ती जोखिममा रहेका कारण वर्षात्अगावै ती बस्ती सारिनुपर्नेमा उहाँको जोड थियो ।
महासचिव एवम् भूकम्पपीडित उद्धार तथा राहत केन्द्रीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले भूकम्प प्रभावित जिल्लामा अभियान निरन्तर रुपमा चलिरहने चर्चा गर्दै अभियानको अन्तिम कार्यक्रमका रुपमा असार ८ गते मुख्य पर्यटकीय केन्द्र या पदमार्गहरुमा पार्टी नेताहरुको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनुभयो ।
अभियानअन्तर्गत असार ४ देखि ६ गतेसम्म भूकम्पग्रस्त क्षेत्रका सबै पार्टी नेता, कार्यकर्ता र सदस्यलाई अनिवार्य रुपमा स्वयम्सेवी अभियानमा सहभागी हुन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।
अभियानका संयोजक एवम् पार्टी सचिव गोकर्ण विष्टले अभियानमा खटिने क्रममा कति ठाउँमा भग्नावशेष हटाउने क्रममा कैयौँ स्वयम्सेवक घाइते हुनुभएको जानकारी गराउनुभयो ।
अभियानले हिमाल, पहाड र तराईबीच भावनात्मक एकता कायम गराउन सफल भएको उहाँको भनाइ छ ।
पार्टी सचिव प्रदीप ज्ञवालीले अभियानले विपत्तिका बेलामा आफूलाई साथ दिने सहयोगी हातहरु छन् भन्ने सन्देश जनतालाई दिएको बताउनुभयो ।
केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जारी अभियानले सीमित स्रोत साधनका भरमा पनि नवनिर्माणको अभियान सुरु गर्न सकिने आत्मविश्वासलाई प्रवद्र्धन गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) प्राकृतिक विपत्ति राहत कोषमा प्रवाशी नेपाली सङ्घ भारत महाराष्ट्र गुजरात राज्य समितिअन्तर्गत पुना नगर समितिमा आबद्ध नेपालीका तर्फबाट रु चार लाख ५० हजार र मदन–आश्रित स्मृति प्राविधिक शिक्षालय, गोठाटार काठमाडौँको तर्फबाट रु ५१ हजार १११ नगद जम्मा हुने गरी हस्तान्तरण गरिएको थियो ।