सात वटा क्रसर तथा खानी उद्योग बन्द

बनेपा, ३ असार । काभ्रेपलाञ्चोकमा मापदण्ड विपरित सञ्चालन भएका सात वटा क्रसर तथा खानी उद्योग बन्द भएका छन् ।

भूकम्पका कारण कमजोर बनेका डाँडाँपाखामा ठूला÷ठूला मेसिन प्रयोग गरेर ढुङ्गा उत्खनन् गरी खानी सञ्चालन गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी विपी राजमार्ग आसपासमा रहेका खानी तथा क्रसर उद्योग बन्द गरेको हो । प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालका अनुसार बन्द गरिएका उद्योगमा कासीखण्ड नगरपालिका–६ मा सञ्चालन भएको पशुपति रोडा–ढङ्गा, गिट्टी उद्योग, कानपुर गाविस–५ मा इजाजत लिइ कटुञ्जेमा सञ्चालन भएको मनकामना एग्रिगेड क्रसर उद्योग र सभासद् तीर्थ लामाले खार्पाचोक–२ स्थित विपी राजमार्ग छेउमै सञ्चालन गरेको नाङशाल रोडाढङ्गा उद्योग रहेका छन् ।

Crosser
फाइल फोटो

यस्तै, खार्पाचोक–१ मा सञ्चालन भएको गौरीशङ्कर रोडाढङ्गा उद्योग, भिमखोरी–२ को माँ चण्डेश्वरी एग्रिगेड रोडाढुङ्गा उद्योग र गोर्खा एग्रिगेड रोडाढङ्गा उद्योगको स्थलगत अनुगमन गर्दै तत्काल बन्द गर्न स्थानीय प्रसासनले निर्देशन दिएको छ । प्रशासनले सबै उद्योगमा सञ्चालन गरिएका मेसिनको साँचोसमेत नियन्त्रणमा लिएको छ ।

अनुगमनका क्रममा कुनैपनि खानी तथा क्रसर उद्योगले आफ्नो परिचय खुल्ने बोर्ड नराखेको, उद्योगमा काम गर्ने कर्मचारीको सुरक्षा नअपनाएको, सर्वसाधारण तथा वातावरणमा असर पार्ने गरी उद्योगबाट धुलो उडाएर सञ्चालन गरेको, एउटा स्थानमा उद्योग दर्ता गरी अर्को स्थानमा सञ्चालन गरेको, नवीकरण नभएको, वातावरणीय हिसाबले असर पार्ने गरी उद्योग सञ्चालन तथा इजाजतपत्र र अन्य आवश्यक कागजपत्र उद्योगमा नराखेकाले उद्योग बन्द गरिएको प्रजिअ ढकालले बताउनुभयो ।

प्रजिअ ढकाल, स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिना, प्रहरी उपरीक्षक पूजा सिंहलगायतको टोलीले विपी राजमार्ग आसपासमा रहेका खानी तथा क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो । रासस

तपाइँको प्रतिक्रिया ।