सार्थक जीवन : गंगा लिगल (कविता )

सार्थक जीवन : गंगा लिगल  (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस ९ ।

तिमी कहाँ छौ भनि खोज्छन् यहाँ सबै
मन्दिर मस्जिद जहाँ तहाँ घुम्छन् अझै
जात पात र भेदभाव गर्दछन् यहाँ
अमीर–गरिबको लेखो राख्छन् सबै ।

झगडा तकरार कटु शब्द प्रहार गरी
एकले अर्कोलाई उछिन्ने नियति लिई
अहम् र अहङ्कारले विषकुम्भ भरि
मानवको मूल्य र मान्यता नगरी ।

कुदृष्टि, कुभाव र कुविचार लिई
कुस्वप्न, कुकर्म र कुकार्य गरी
मनुष्य भै मानवताको भाव नलिई
व्यर्थै नगुमाऔं अमूल्य जीवन पशुसरि ।

स्वर्ग र नरक त यहीं छ विचार गर
स्वच्छन्दता मै छ आनन्दको घर
परोपकार पुण्याय पापाय परपीडनम्
जीवनको यथार्थ नै यही हो अति सुन्दर ।

जनको मनलाई अवहेलित नगरी
प्रेमको जलले मानवमा सेचन गरी
विश्वास र श्रद्धाको पुष्प पुञ्ज भरी
सत्य र आनन्दको अनुभुति लिई ।

‘आनन्दो ब्रह ब्रह्येते परमात्मन’ बुझौं
यसैमा इश्वरीय रुप छ यसलाई पुजौं
सत्य, धर्म, शान्ति र प्रेमको सदा पाठ पढौं
‘अहिंसा परमोधर्म’ लाई नित्य मनन गरौं ।

स्वर्गीय सुन्दर सपना सहजै साकार गरौं
‘नस्ति ज्ञानात् परम् सुखम’ लाई बुझौं
हृदयमा अनन्त ज्ञान भण्डार भरौं
जीवनमा प्रेमै प्रेमले कलश भरौं ।

आत्मानन्द नै ईश्वर प्राप्तिको संङ्केत बुझौं
‘परोपकाराय इदम् शरिरम’ लाई चिनौं
सत्य, धर्म अनि अहिंसाको हतियार लिई
विश्व मै प्रेममय बनाउन विगुल फुकौं ।

श्रद्धा सुमनले पत्थर पग्लन्छ चेतन भै
दया र त्यागले जड पनि चेतन बन्दछ
पारदर्शी हृदयमा परमार्थ प्राप्त गर्दछ
अनि पवनमा पनि परमात्माको झल्को पाइन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।