ऋण गरी बनाएको टहरामा बस्न नसक्ने अवस्थामा तारेभिरवासी

(पूर्णप्रसाद मिश्र)  तारेभिर (काठमाडौँ), ३१ जेठ । भूकम्पले घर चर्किएपछि ऋण गरेर टहरा बनाई बसेका गोकर्णेश्वर नगरपालिका– ७ तारेभिरका स्थानीयवासी टहरामा पनि बस्न नसक्ने अवस्थामा पुगेका छन् ।

शुक्रबार रातभरको वर्षा र चट्याङले तारेभिर डाँडामा हानेपछि शनिबार बिहानबाट ठूला ढुङ्गा खस्न थालेको थियो । ढुङ्गा खस्न थालेपछि नगरपालिकाको वडा नं ७ का सबै बस्ती र वडा नं ८ का केही घर पनि जोखिममा परेको छ ।

Tarebhir_kapanonline-1024x576

तारेभिरमुनिका ३५ घर पहिरोको उच्च जोखिममा परेको स्थानीय विकास लामाले बताउनुभयो । “वैशाख १२ गतेको भूकम्पमा साना ढुङ्गा खसेको थियो, केही समयमा रोकिएपछि डर हटेको थियो, शनिबार बिहान पुनः ठूला ढुङ्गा खस्न थालेपछि रातभर सुत्न सकिएन” – उहाँले भन्नुभयो ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको तारेभिरमा ठूला चट्टानको थुम्को रहेको छ । थुम्को माथिका ढुङ्गा छुट्टिएका छन् । छुट्टिएका ढुङ्गा जतिबेला पनि खस्न सक्ने भएकाले स्थानीयवासी आतङ्कित बनेका छन् । डरले स्थानीयवासी नजिकैको गोठसल्लाघारी सामुदायिक वनमा अस्थायी टहरा बनाई बस्न थालेका छन् ।

वनमा १५ परिवारमात्र बस्न सक्नेसम्म स्थान भएकाले अरु परिवार भिरालोमा बस्नुपर्ने भएको स्थानीय कृष्णबहादुर तामाङले बताउनुभयो । “शनिबार बिहान ढुङ्गा खस्दा ठूलो आवाज र कम्पन आएकाले त्रास बढेको छ” – उहाँले भन्नुभयो ।

तारेभिरको मुनिनै रहेको तारेभिर गुम्बामा बस्ने कान्छा लामा ढुङ्गा खस्दा आएको आवाजको त्रासले अझै सताइरहेको बताउनुहुन्छ । तारेभिरमुनिको मूलबाट ल्याएको खानेपानीको स्रोतमा केही समस्या भएर धारामा पानी नआएकाले पानी हेर्न जाँदा ढुङ्गा खस्न थाल्यो । आँखा अगाडि ठूला ढुङ्गा खस्न थालेपछि जीवनको आशा गुमाएकामा ढुङ्गा दायाँबायाँ भएरमात्र पुनर्जीवन पाएको उहाँ बताउनुहुन्छ ।

“गुम्बाको पर्खाल भत्किएर ठूला ढुङ्गाभित्र पसे पनि भौतिक र मानवीय क्षति भएन, भाग्यले बाँचियो त्यो क्षण सम्झँदा अहिले पनि जीउ काम्छ” – ढुङ्गा खस्दा नजिकै रहेका प्रत्यक्षदर्शी लामाले भन्नुभयो ।

विसं २०४७ मा १३ रोपनी जग्गामा निर्माण भएको गुम्बाका कर्मचारी अहिलेसम्म भिरको ढुङ्गा खसेको नदेखेको बताउँछन् ।

भिर खस्दा पहिलो प्रभाव पर्ने गुम्बाका लामा गुरु नवाङ चोटेन कहाँ सर्ने भन्ने पिरलो थपिएको बताउनुहुन्छ । “गुम्बाका संस्थापक रिन्पोछे निमा टुल्कु अहिले भारतको गुम्बामा जानुभएकाले उहाँ फर्किएपछि सल्लाह गरेर बसाइँ सारिने छ” – उहाँले भन्नुभयो ।

निकुञ्जसँग जोडिएको यस बस्तीका स्थानीयलाई घरबाट सहर ओहोरदोहोर गर्दा पनि शुल्क लिने गरेको कमल तामाङले बताउनुभयो । “निकुञ्जभित्रैको नागी गुम्बालाई ज्वाइँ जस्तै गरी राखेर बाहिरका स्थानीयवासीलाई घर बस्तीमा ओहोरदोहोर गर्दा पनि रसिद काट्छन्, निकुञ्जभित्र प्राकृतिक प्रकोप आउँदा निकुञ्जका अधिकारी हेर्नसम्म पनि आएका छैनन्” – उहाँले भन्नुभयो ।

स्थानीय सञ्चारकर्मी सुशील सिम्खडा भिरमा देखिने चट्टान छुट्टिएर खस्न लागेजस्तो देखिएकाले भूगर्भविद्ले अध्ययन गरी वास्तविकता जानकारी गराए डर र त्रासबाट मुक्त भइने बताउनुहुन्छ ।

भूकम्पको समयमा आएको झट्का भन्दा लामो झट्का आउँदा शनिबारबाट बस्ती छोडेका स्थानीयवासी ढुङ्गा खस्न बन्द हुँदा पनि बस्तीमा फर्कन सकेका छैनन् । तामाङ बस्ती रहेको तारेभिरमा त्रासको वातावरण सिर्जना हुँदा नेपाल टेलिकमको टावरले राम्रो काम नगरेकाले छिटो सञ्चार सम्पर्कसमेत हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र तिवारी प्रारम्भिक चरणमा ५० घर जोखिममा देखिएको र भिरको चट्टान पूरै खस्ने सम्भावना भए÷नभएको अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भौगर्भिक अध्ययनको व्यवस्था मिलाउन लेखी पठाइएको बताउनुहुन्छ ।

“भिर पूरै खस्ने अवस्था भए नगरपालिकाको ७ र ८ नं वडाको ५०० घर नै सुरक्षित स्थानमा सार्नुपर्छ, यस्तो अवस्थामा नगरपालिकाभन्दा माथिल्लो निकायको सहयोग आवश्यक्ता पर्छ” – उहाँले भन्नुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल आज खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूह तारेभिरको भौगर्भिक अध्ययनका लागि पठाइएको र भोलि जिल्ला भू–संरक्षण कार्यालयका समूह पनि पठाउने तयारी भएकाले त्यसको प्रतिवेदन आएपछि मात्र वास्तविकता भन्न सकिने बताउनुहुन्छ ।

असुरक्षित महसुस गरी सर्न चाहनेलाई नगरपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सुरक्षित स्थानमा लैजाने काम भइरहेको नगरपालिकाले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।