सोह्र बुँदे सहमति अनुरुप प्रतिवेदन तयार गर्न पाँच उपसमितिलाई निर्देशन

काठमाडौँ, ३१ जेठ । संविधान मस्यौदा समितिले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति अनुरुप दुई दिनभित्र मस्यौदा प्रतिवेदन तयार पार्न मातहतका पाँच उपसमितिलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले उपसमितिको बैठक लगातार बसेर प्रतिवेदन तयार पारी असार २ गतेको समितिको पूर्ण बैठकमा पेस गर्ने निर्णय भएको समितिका सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले फरक मतसहित पठाएको १६ बुँदे सहमतिलाई संविधानसभाको पूर्ण बैठकले पारित गर्दै मस्यौदाका लागि समितिमा पठाएको हो ।

सोही प्रतिवेदनका आधारमा उपसमितिले मस्यौदाको प्रतिवेदन तयार पार्नुपर्ने कार्यादेश समितिलाई छ ।

सोह्र बुँदे सहमतिमा उल्लेख नभएका विवादित विषयसमेत टुङ्ग्याउने जिम्मा उपसमितिलाई दिइएको छ ।

भरतमोहन अधिकारीको संयोजकत्वमा व्यवस्थापिका उपसमिति, हितराज पाण्डेको संयोजकत्वमा कार्यपालिका उपसमिति, रमेश लेखकको संयोजकत्वमा न्यायसमिति, जितेन्द्र देवको संयोजकत्वमा प्रस्तावना उपसमिति र अइन्द्रसुन्दर नेम्वाङको संयोजकत्वमा मौलिक हक उपसमिति रहेका छन् ।

उपसमितिको प्रतिवेदन आएपछि समितिको बैठकले कार्यदल गठन वा अन्य प्रक्रियामार्फत मस्यौदा लेखन कार्य अगाडि बढाउने लेखकले जानकारी दिनुभयो ।

उपसमितिले यसअघि नै प्रतिवेदन तयार पारे पनि त्यसमा १६ बुँदेको भावनाअनुरुप विषयवस्तु थपेर नयाँ प्रतिवेदन तयार पार्न आजको बैठकले निर्देशन दिएको सदस्य रेवतीरमण भण्डारीले बताउनु भयो ।

तपाइँको प्रतिक्रिया ।