नेकपा (एमाले) द्वारा बसन्तपुर र पशुपतिक्षेत्रमा सरसफाइ
काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले) ले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षति भएका बसन्तपुर–हनुमानढोका क्षेत्रमा सरसफाइ गरेको छ ।
आज बिहान बसन्तपुर दरबार क्षेत्रमा जम्मा भई ऐतिहासिक विश्व सम्पदा क्षेत्र, मठ–मन्दिर तथा देवालयको सरसफाइ गरेको हो ।
सरसफाइको उद्घाटन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक मठ–मन्दिरका काठ सुरक्षित स्थानमा राख्न पंक्तीमा पास गरेर गर्नुभयो ।

- २०७२ साल बैशाख १२ गतेको महाभूकम्पबाट क्षति भएका ऐतीहासिक विश्व सम्पदा क्षेत्र,मठ मन्दिर तथा देवालयका सरसफाई कार्यक्रमको हनुमान ढोका परिसरमा देवालयका खम्वा तथा काठ उचालेर उद्घाटन गर्दै एमालेका अध्यक्ष केपी वली तथा वरिष्ठ नेता माधव कुमार नेपाल लगायत । तस्बिर ः प्रदीपराज वन्त, रासस
सरसफाइ कार्यक्रमअन्तर्गत बसन्तपुर र हनुमानढोका बहिर रहेका मठ–मन्दिर, देवालयका काठपातहरु सुरक्षित स्थानमा राख्ने र आसपासमा सफाइ गर्ने कार्यक्रम रहेको पार्टीका सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।
सरसफाइ कार्यक्रममा नेकपा (एमाले) का पार्टी अध्यक्ष ओलीसहित नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।
पार्टीले उपत्यकामा भएका सबै भातृसङ्गठनलाई केन्द्रीकृत गरी सरसफाइमा लगाएको हो । पार्टीका भातृसङ्गठनहरु अखिल नेपाल किसान सङ्घ, अखिल नेपाल महिला सङ्घ, युवा सङ्घ नेपाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), काठमाडौँ, भक्तपुर र ललितपुरमा पुनः निर्माणमा खटिएका टोली पनि सरसफाइमा खटिएका छन् ।

यसैबीच, नेकपा (एमाले) का नेता तथा कार्यकर्ताले भूकम्पबाट क्षति भएका पशुपति क्षेत्रका ऐतिहासिक विश्वसम्पदा क्षेत्र तथा मठ–मन्दिरमा पनि सरसफाइ गरेका छन् । रासस
