काठमाण्डौ क्षेत्र नं ३ : राई र चालिसेको भिडन्त रोचक मोडमा ,स्वतन्त्रको सशक्त उपस्थिति
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ८।
काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमालेका उम्मेदवार कृष्ण राई र नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे विच रोचक भिडन्त हुने देखिएको छ।
२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य बनेका राई र गोकर्णेश्वर नगरपालिकाका प्रमुख चालिसे विचको प्रतिस्पर्धा निकै रोचक बनेको अवस्थामा स्वतन्त्र उम्मेदवारहरुले पनि शशक्त उपस्थिति देखाइरहेका छन।
२०५४ सालमा साविक जोरपाटी गाविसमा जनप्रतिनिधिका रुपमा काम गरेका उनीहरु विच प्रारम्भिक चरणमा निकै प्रतिस्पर्धा देखिएको चर्चाले क्षेत्र नं ३ को राजनीति निकै तातेको छ।
काठमाण्डौ क्षेत्र नं ३ को निर्णायक मत रहेको साविक जोरपाटीका दुई नेताहरु चुनावी मैदानमा आए संगै यसको प्रभाव र सम्भावित परिणामका वारेमा विभिन्न टिका टिप्पणी भैरहेका छन।
यस विच काठमाण्डौ क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवार बनेका निरन्जन पुडासैनी र दिनेश खनालको अभियानले माइलेज लिए संगै त्यसले राजनीतिक दलको जोड घटाउमा पनि प्रभाव पार्न सक्ने देखिएको छ।
काठमाण्डौ महानगरपालिकाको एक ,कागेश्वरी मनोहरा नगरपालिकाका तिन र गोकर्णेश्वर नगरपालिकाका ९ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ३ मा राप्रपाले गणेश गिरीलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएको छ।
२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ बाट नेकपा एमालेका कृष्ण राई विजयी बनेका थिए भने नेपाली कांग्रेसकी अम्बिका बस्नेत उनको निकटतम प्रतिद्वन्दी रहेकी थिइन् ।