देउसी भैलो रातभरी खेल्न पाउनुपर्छ : जयराम थापा
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ८ ।
काठमाण्डौ क्षेत्र नं ४ (२ ) का प्रदेस सभा सदस्य उम्मेदवार जयराम थापाले नेपालको सांस्कृतिक पर्वका रुपमा रहेको देउसी भैलो रातभर खेल्न पाउनुपर्ने बताएका छन।
भातृत्व र सामाजिक सदभावका रुपमा रहेको तिहार पर्व सामाजिक सम्बन्ध विस्तार र रचनात्मक उपयोगको अवसर भएको बताउदै थापाले सुरक्षा निकायले सुरक्षा दिएर रातभर मनाउन पाउनु पर्ने धारणा राखेका हुन्।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का महिला समूहहरुले आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै उनले परापुर्व काल देखि चलिआएको पर्वलाई सबैले हार्दिकता पुर्वक मनाउनु पर्नेमा कानुनी र अन्य बन्देज लगाउनु गलत रहेको धारणा राखेका थिए।
देउसी भैलो जस्तो महत्वपूर्ण पर्वमा समयको बन्देज लगाउदा नयाँ पुस्ताले यसको सांस्कृतिक महत्व बुझ्ने अवसर गुमाएकोमा दुख व्यक्त गर्दै उनले नयाँ पुस्ताले समेत देउसी भैलोलाई लामो समय सम्म जीवन्त राख्न र उपयोगी बनाउन योगदान पुर्याउनु पर्ने सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएका छन।
बुढानिलकण्ठ -२ मा रहेको गणेश मावि, चपली अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्षका रुपमा औपचारिक राजनीति सुरु गरेका थापाले अनेरास्ववियु जिल्ला कमिटी हुँदै केन्द्रिय कमिटीमा रहेर जिम्मेवारी बहन गरेका थिए ।
वि. सं. २०५२ सालदेखि नेकपा एमालेको संगठित सदस्य रहेका थापाले क्षेत्र नं. ४ मा बुद्धिजिवी कमिटीको ईन्चार्जदेखि नेकपा एमाले केन्द्रिय संस्कृति विभागको सदस्यका रुपमा राजनीतिक योगदान पुर्याएका थिए भने नेकपा एमाले निकट प्रगतिशिल कानुन व्यवसायी संगठन (पिपिएलए) पाटनको अध्यक्ष हुँदै केन्द्रिय कमिटी सदस्यका रुपमा पेशागत योगदान दिएका छन।
२०७१ देखि २०७५ सम्म बुढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्षका रुपमा धार्मिक, साँस्कृतिक, पर्यटकीय विकासमा सक्रिय रहेका थापाले अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेर भारतबाट अन्तर्राष्ट्रिय कुटनैतिक कानुनमा पिएचडी गरिरहेका छन् ।
लिभरपुल इन्टरनेशनल कलेजमा एक दशक भन्दा बढी कार्यकारी निर्देशकका रुपमा शैक्षिक विकासमा सक्रिय थापा अहिले बुढानीलकण्ठ- २ मा रहेको गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका छन् ।