भूगोलपार्क डटकमले गर्यो २०४८ देखि २०७४ सम्मको सांसदको तथ्याङ्क सार्वजनिक

भूगोलपार्क डटकमले गर्यो २०४८ देखि २०७४ सम्मको सांसदको तथ्याङ्क सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १ ।

सर्वेक्षण वेबपोर्टल भूगोलपार्क डटकमले २०४८ देखि २०७४ सम्मको सांसदहरुको तथ्याङ्क सार्वजनिक गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर भुगोलपार्क डटकमले निर्वाचन आयोगमा भएका अहिलेसम्मका सांसदहरुको विवरण सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै भूगोलपार्क डटकमका फाउण्डर सिमोन ढुंगानाले नेपालको तथ्यांकमा नयाँ आयाम सुरू गरिएको बताएका छन् । उक्त आयामले लोकतन्त्रलाई बलियो, सुदृढ बनाउने र जनतालाई मत दिने आधारमा निर्णय गर्ने प्वाइन्ट पनि हुने उनको भनाइ थियो । १६५ प्रत्यक्ष र ११० समानुपातिक उम्मेदवारहरु सबै र अब निर्वाचित उम्मेदवारहरुको प्रोफाइल पनि यसमा राखिने उनले जानकारी दिए ।
उनले भने,“यसबाट सबै नेताका सम्पुर्ण सुचना उपलब्ध गराउने कार्यको सुरुवात गरिएको छ । हिजोसम्म उम्मेदवार भएका नेताहरुको प्राप्त भएसम्म सम्पक्तिको रेकर्ड, प्रहरीको कुनै पनि अपराधिक रेकर्ड छ भने पनि त्यसमा राखिने छ ।”
आफूहरुसँग भएको डाटा निर्वाचन आयोगबाट लिईएको र भोलिका दिनमा त्यसमा रेकर्ड थपिदै जाने उनले स्पष्ट पारे । उनले,‘हाम्रो नेता डट अनलाइन’ले जनताको मत दिने आधारमा डाटाबेस निर्णय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पुर्व प्रमुख निर्वाचन आयुक्त डा. भोजराज पोखरेलले सांसदहरुको विवरण संकलनमा चुनौती भएको बताएका छन् । “भेटिएका नेताका विवरणको स्रोत कहाँ होला, विवरणको प्रक्रियाको पारदर्शीता कुन लेवलमा होला, रातभरमा डेटा त के के प्रोडक्सन भाछन्, हुन सक्छन्’’उनले भने,“कत्तिको विश्वसनीय होला ?, यस्ता कुरामा भुगोलपार्कले विचार पुर्याउनु पर्छ ।”
पोखरेलले देशमा विगत ३० वर्षमा धेरै कुरामा परिवर्तनको अनुभुति गर्न पाएपनि असल शासनको अनुभूति गर्न नपाएको जनगुनासो ब्यापक रहेको उल्लेख गरे । उनले भने,“देशमा न्याय भएन, न्याय नभएको कारणले अरु कुरा पनि ओझेलमा परेको हुनसक्छ ।”
उनले देशमा भएको उपलब्धिको जस नेताहरुलाई दिँदै उनले जसले परिवर्तनका लागि एजेण्डा लिएर आए र जनतालाई परिवर्तनको लागि जुरुक्क उठाउन सके सोही नेतृत्व परिवर्तनमा चुकेको पनि टिप्पणी गरे ।
यी सबै प्रक्रिया, प्रणाली र पद्धतीका केही दोषहरु भएको उनको भनाइ थियो । उनले नेतृत्वको प्रवृत्तिमा परिवर्तन नआएको कारणले देशमा विषम परिस्थिति आइलागेको टिप्पणी गरे । यसमा नेतामात्र नभएर जनता पनि दोषी भएको उनले बताए ।
देशको प्रणालीगत समस्या नै गलत भएको भन्दै उनले अहिलेको परिस्थितिमा जस्तोसुकै राम्रो गर्छु भनेर कुनै नेता गएपनि प्रणालीकै कारण गलत काम गर्न पुग्ने उनले विचार व्यक्त गरे ।
पुर्व प्रमुख आयुक्त पोखरेलले कसैको पनि पूरा सुचना कुनै मिडियाले नदिएको गुनासो आइरहेको बेला भुगोलपार्कको सहयोगले जनताले नेताहरुको बारेमा सत्य जानकारी पाउने विश्वास दिलाए ।
यसैगरी, वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले देश यतिबेला लोकतन्त्रको महापर्व निर्वाचनमा होमिएको बताउँदै निर्वाचनमा उत्साहजनक सहभागिता जनाउन अपिल गरेका छन् ।
उनले भने,“लोकतन्त्र प्रजातन्त्रको अक्सिजन हो । निर्वाचनले लोकतन्त्रलाई जीवन्तता प्रदान गर्छ । तर, अहिले कुनैपनि पार्टीका कुनै एजेण्डा छैनन् । निर्वाचन एजेण्डाविहीन लोकतन्त्रको कर्मकाण्डमात्र गरेको देखिन्छ ।” अहिलेका नेताहरुले देश रूपान्तरण गर्न नसक्ने उनको आरोप थियो ।
त्रिपाठीले नेताहरुबाट देशको विकास हुने आशा गर्नुनै जनताको मुुर्खता भएको धारणा राखे । उनले नेताहरुले जनतालाई मुर्ख बनाउने काम गरेको उल्लेख गर्दै ती नेता एजेण्डाबिना नै पटक–पटक जनताबाट अनुमोदित हुन सफल भएको सुनाए ।
उनले आवाजविहीनहरुको लागि लोकतन्त्र भएपनि पहिला–पहिला संसद्मा महिलाहरुको उपस्थिति कम भएको बताए । लोकतन्त्रमा जनताबाट शासन हुने भनिएपनि जनता किन्ने खेल भइरहेको उनको आरोप थियो ।
निर्वाचनमा चुनाव चिन्ह जनताले छान्न पाउने अधिकार भएपनि आफूले मत हाल्न चाहेको चिन्ह नै मतपत्रमा नभएको उनले बताए । दलहरुले गठबन्धन गरेर जनताको छनौट (च्वाइसलाई) लाई बन्देज गरेको भन्दै उनले गठबन्धन गरेर लोकतान्त्रिक प्रक्रियालाई अर्थहिन बनाएको सुनाए । .उनले भने,“यो लोकतन्त्रमाथिको कुठराघात हो । यो लोकतन्त्रमाथिको मुटु र आत्मामाथि आक्रमण हो जस्तो लाग्छ ।”
पछिल्लो समयमा तीनवटा ‘एम’ हावी भएको भन्दै उनले भने,“मनि, मसल र माफिया हावी भएको छ, मनि हुनेले जसरी पनि चुनाव जित्छन् । यी तीन चिजले राजनीतिलाई नियन्त्रण गरेको छ ।”
कार्यक्रम सञ्चालक विष्णु खड्काले सबैभन्दा थोरै २०५१ सालमा ७ जना सांसद र सबैभन्दा धेरै २०७४ सालमा ९१ जना रहेका बताए । सुरुदेखि नै महिलाहरु भन्दा पुरुषहरुले संसद्मा प्रतिनिधित्व गरेको देखिएको उनले उल्लेख गरे ।

तपाइँको प्रतिक्रिया ।