ए निर्दोष बलात्कारी, मलाई जिउँदै नछोडिदेउ : सरोजा पोखरेल ( कविता )

ए निर्दोष बलात्कारी, मलाई जिउँदै नछोडिदेउ : सरोजा पोखरेल ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज १९ ।

ए निर्दोष बलात्कारी, मलाई जीउदै नछोडिदेऊ
सक्छौं मलाई तहसनहस बनाइदेऊ
मेरा शरिरका अङ्ग नभेटीने गरी
फरक फरक नालीमा फालिदेऊ
मेरो लुटिएको अस्मिता नफर्कने गरी गाडिदेऊ
मेटाइदेऊ, मेरो नाम, नभेटिने गरी
हटाइदेऊ मेरो जन्म नै मेटिने गरी
अन्त्य गरिदेऊ मलाई र नयाँ कथा जोडिदेऊ
ए निर्दोष बलात्कारी, मलाई जिउँदै नछोडिदेऊ

तिमीले मलाई जिउँदै छोडेमा,
म केहि घण्टा होस हराउँला
केहि दिन बोल्न डराउँला
केहि महिना शोकमा परौँला
तर एक दिन साहस जुट्ने छ
मनको बाँध बेजोडले फुट्ने छ
म पुग्नेछु न्यायको ढोका ढकढकाउन
हार गुहार गर्नेछु तिमीलाई दोषी ठह¥याउन
म अनि मेरो इज्जत कठघरामा हुनेछ

त्यतिबेला, अहिलेसम्म कहाँ थिइस् भन्नेछन्
हरेक व्यक्ति न्यायधीश बन्नेछन्
मेरो उमेर, व्यक्तित्व, पहिरन, स्वभावमा प्रश्न उठनेछ
तिमीले लुटिसकेको मलाई दुनियाँको सोचले लुट्ने छ
तिमी छाती चौडा गरेर हिडीरहँदा, म वेश्यामा गनिनेछु
चुप लाग्दा म नै गलत,
बोले हेर त उत्ताउली भनिनेछ
मलाई टुक्रा टुक्रा गरेर कतै, फलिदेऊ गिद्धले खानेछ
बलात्कारी तिमी, अपराधी तिमी, इज्जत मेरो जाने
ए निर्दोष बलात्कारी, मलाई जीउदै नछोडिदेऊ

निर्मला तिमी मारियौ ढुक्क भो
भगीरथी तिम्रो हत्या भो ढुक्क भो
तिमी जिउँदो हुन्थ्यौ त तिमीलाई दुनियाँले थुक्दथ्यो
चरित्र तिम्रो लिलामी हुन्थ्यो, दोषी समाजको काखमा लुक्दथ्यो
नेहारिकाको हालत तिमी माथिबाट हेर्दि हौँ
दोषी खुल्ला घुमेको देख्दा, लामो सास फेर्दी हौँ
धन्न मारेछ तिमीलाई त्यो निर्दोष बलात्कारीले
नत्र पासो लाउथ्यौँ तिमी दुनियाँको वचनको भारीले

तिमीले मलाई जिउदै छाडेमा, मैले नि न्याय नपाएमा
समाजले मलाई नै दोषी ठहराएमा
म भीख माग्ने छैन न्यायको, ठाउँ छाड्नेछैन दयाको
म आउनेछु,
तिम्रो कुरी काटेर कुकुरलाई खुवाउनेछु
भगवान साक्षी मेरा हर गल्ती पच्नेछन्
मेरो एक गल्तीले अरू चेली बच्नेछन्
कराउनेछन् तीम्रो विरोधमा मेरा दाजुभाइ
डराउनेछन् तिमीजस्ता नजिक आउनलाई
त्यसैले,
ए निर्दोष बलात्कारी, मलाई जिउँदै नछोडिदेऊ

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।