फुलको नियती : विशुकुमार केसी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज १९ ।
फूलले कसैको याद गरि रहेको थियो
सायद भमरालाई पर्खी रहेको थियो
तर आइन एक प्रेमी
टपक्क चुडिन त्यै फुल र
दिइन उपहार आफ्नो प्रेमीलाई
भ्यालेन्टाइन डेको दिनमा ।
फूलले पुकार गरिरहेको थियो, कसैको
सायद प्रतीक्षा गरिरहेको थियो
मीठो स्पर्श बतासको
तर आयो एक पुजारी
चटक्क चुड्यो त्यै फूल र
चडायो अफ्नो भगवानको पाउमा ।
फूलले खोजीरहेको थियो एक झरी मायाको वर्षा
तर आइन एक दलकी कार्यकर्ता टिपिन धेरै फूलहरु
घोचिन तीखो सियो
उनिन माला र
लगाइदिन आफ्नो नेताको गलामा ।
चराले चिथोरेर च्यातिनु परेको भए पनि
चित्त बुझ्दथ्यो होला
भमराले चुसेर सुक्नु परेको भए पनि
मन मान्दथ्यो होला
हुरिले लछार पछार पारेर झर्नु परेको भए पनि
सहन्थ्यो होला ।
असिना पानीले चुटेर मर्नु परेको भए पनि
प्राकृतिक विपत्ती ठान्दथ्यो होला ।
तर फूलहरुले
अरुकै प्रेमको नाममा
आत्महत्या गर्नु परेको छ ।
कसैको पाप मोचनको लागि
बलि चढनु परेको छ ।
स्वार्थी राजनीतिको नाममा
सहिद हुनु परेको छ ।
मैले त सामान्य मान्छेको भन्दा
क्यै फरक देखिन नि
फूलहरुको नियति पनि ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक