के मंगसिर ४ मा चुनावी मैदानमा भिडलान कुसुम कुमार कार्की र उद्दव खरेल ?
कपन अनलाइन
काठमाण्डौ ,असोज १८।
मंगसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेस सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेद्वारी दर्ता गर्ने दिन असोज २३ गते आउँन ५ दिन बाँकी रहेको छ।
लामो समय सम्म संगै राजनीतिक सहयात्रा गरेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुसुम कुमार कार्की र नेकपा एमाले बागमती प्रदेस कमिटीका सदस्य उद्दव प्रसाद खरेल प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा उत्रिने सम्भावना बढे संगै काठमाण्डौ क्षेत्र नं ४ (२ ) को दशैँ माहोल मस्त राजनीतक बनेको छ।
नेकपा एमालेको संगठन निर्माणमा विभिन्न कमिटी तथा अभियानहरुमा लामो समय सहयात्रा गरेका कार्की र खरेल यस पटक फरक पार्टीबाट चुनावी मैदानमा आउने सम्भावना बढेको चर्चाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) को राजनीतिक माहोल निकै तातेको हो।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक महांकाल गाविसको अध्यक्ष बनेका कार्की र चपली गाविसको अध्यक्ष बनेका खरेलले पार्टी जीवनको इलाका स्तर देखि नै निरन्तर सहकार्य गर्दै आएका थिए।
नेकपा एमालेको विभाजन संगै अहिले फरक पार्टीका नेता बनेका कार्की २०७४ सालमा बागमती प्रदेस सभा सदस्य र खरेल बुढानिलकण्ठ नगर प्रमुखमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।
काठमाण्डौ क्षेत्र नं ४ मा चौथो पटक सांसद बन्नका लागि मैदानमा आउने तयारी गरेका कांग्रेस महामन्त्री गगन थापालाई “कुसुम कम्फरटेवल” हुने विश्लेषण सहित गठबन्धन सुरु भैसकेको अवस्थामा नेकपा एमालेबाट सर्वसम्मत सिफारिस भएका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईलाई खरेलको साथ प्रभावशाली र सहज हुने सक्ने चर्चाले क्षेत्रको राजनीतिक माहोल संगै नेकपा एमालेको राजनीति पनि निकै गर्माएको छ।
नेपाली कांग्रेसले मैदान छाडेपछि गठबन्धनको उम्मेदवार बनेका कार्की र बुढानिलकण्ठ नगरपालिकाका पुर्व नगर प्रमुख खरेल चुनावी मैदानमा प्रतिस्पर्धीका रुपमा आएको अवस्थामा संघीय क्षेत्र संगै काठमाण्डौ क्षेत्र नं ४ (२ ) को चुनावी माहोल पनि निकै रोचक बन्ने अनुमान गरिएको छ।
काठमाण्डौ क्षेत्र नं ४ (२) मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं १ ,२ ,८ ,९ ,१० ,११ ,१२ र १३ मा वडा अध्यक्ष सहित नेकपा एमालेका २८ जना जनप्रतिनिधि विजयी बनेका थिए।
कुल ४० जना जनप्रतिनिधि मध्ये २८ जना निर्वाचित भएका नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ११,४१५ रहेको छ। त्यस्तै १२ जना जनप्रतिनिधि निर्वाचित गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारहरुले ८,६८० मत प्राप्त गरेका थिए।
काठमाण्डौ क्षेत्र नं ४ (२) का सबै वडाको अध्यक्ष जितेको नेकपा एमाले र नेपाली कांग्रेसका वडा अध्यक्षहरुले पाप्त गरेको मतमा नेकपा एमालेले २,७३५ मत बढी प्राप्त गरेको छ।
निर्वाचन आयोगको वडा अध्यक्ष पदको मत परिणाम अनुसार यस प्रदेस क्षेत्रमा नेकपा एसले १,११४ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ५८० मत प्राप्त गरेको छ।