विवादित विषय पुनः संवाद समितिमा पठाइने
काठमाडौँ, २६ जेठ । संविधानसभाको आजको बैठकले संविधान निर्माणमा देखिएका विवादित विषयलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
संविधानका विवादित विषयमा सहमति नभएको भनी यसअघि संवाद समितिले संविधानसभामा प्रस्तुत गरेको प्रतिवेदनलाई पुनः सोही समितिमा पठाउने भन्ने प्रस्ताव पारित गरिएको हो । दलबीच सोमबार संविधानका विवादित विषयमा १६ बुँदे सहमति भएको थियो ।
यस्तै संवाद समितिका सदस्य सूर्यबहादुर थापाको निधनपछि राप्रपाका तर्फबाट सो समितिमा प्रतिनिधित्व गर्ने सदस्य रिक्त भएपछि सोही दलका दीपक बोहोरालाई बैठकले मनोनयन गरेको छ ।समितिको बैठक आजै साँझ ५ बजेका लागि बोलाइएको छ ।
संविधानसभाको अर्को बैठक यही जेठ २८ गते अपराह्न ३.०० बजे बस्ने कार्यक्रम छ ।
तपाइँको प्रतिक्रिया ।