नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाको अपराजित यात्रा कायमै

नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाको अपराजित यात्रा कायमै

कपन अनलाइन
काठमाडौं, असोज  १८ ।

नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन्। पाँच चरणको समाप्तिमा ४ दशमलब ५ अंक जोड्दै थापाले आफु लयमा रहेको क्रमशः प्रमाणित गरिरहेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौथो चरणको खेलमा आफुभन्दा कम वरियताका भारतीय खेलाडी मधुसुदनन केआरसँग बराबरीमा रोकिए भने आईतबार राती सम्पन्न पाँचौं चरणको खेलमा प्रतियोगिताका दोश्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल रहे ।

च्याम्पियनशीप अन्र्तगत सोमबार मध्यान्ह हुने छैटौं चरणको खेलमा थापाले दोश्रो बोर्डमा ईरानका महमुदी एम सदेगसँग प्रतिष्पर्धा गर्नेछन् । पाँच चरण पश्चात ईरानी खेलाडीद्धय फुलाडी बेहरुज र जमती सोभन पाँचपाँच अंकका साथ शिर्ष स्थानमा रहेका छन् भने ईरानकै महमुदी, पाकिस्तानका जुनाईद सोहिल र नेपालका कृष्ण थापा समान ४ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् ।

नौ चरणसम्म चल्ने च्याम्पियनशीपका बाँकी ४ खेलमा समेत अनुकुल नतिजा निकालेर नेपाल र नेपालीलाई दशैंको उपहार दिन आतुर रहेको कृष्ण थापाले बताए । २० एशियाली देशका १४६ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेको च्याम्पियनशीप अक्टोबर ५ विजयादशमीको दिन सम्पन्न हुनेछ ।

तपाइँको प्रतिक्रिया ।