भन्सार छलेर विदेशी अस्वस्थ माछा नेपाली बजार प्रवेश गराइएको भन्दै तत्काल नियन्त्रण गर्न मत्स्य व्यवसायी संघको आग्रह

कपन अनलाइन
काठमाडौं, असोज १३  । नेपाल मत्स्य व्यवसायी संघले नेपालमा विदेशी माछा अवैध प्रवेश गराएकोमा आपक्ति जनाएको छ । संघले भन्सार छलेर र अस्वस्थ माछा नेपाल भित्र्याउँदा नेपाली किसानहरु मारमा पर्ने भन्दै यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको हो ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर भारतबाट दैनिक ३० देखि ४० टन माछा भित्रिरहेकोमा १ टन माछाको मात्र भन्सार राजश्व दाखिला भएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले भन्सार छलेर र अस्वस्थ माछा प्रवेश गराएर नेपाली किसानहरु मारमा परेको बताए । उनले चोरी र अवैध माछा प्रवेश नियन्त्रण गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए । उनले नेपालमा बिगत केही वर्ष अगाडिदेखि माछा पालन व्यवसाय आत्मानिर्भर हुन खोजिरहेको स्मरण गराए ।
संघको तथ्याङ्कअनुसार नेपालभरि दैनिक ११० टनले वार्षिक १२ अर्बको माछा खपत भइरहेको छ भने नेपाली उत्पादन झण्डै ९ अर्व ७६ करोडले करिब ८१% उत्पादन पुगिसकेको छ ।
चोरी, सेटिङ्ग, पाइपलाईनको माध्यमबाट नेपालमा प्रवेश गरी नेपाली माछा व्यवसाय डुब्ने अवस्थामा आईपुगेको संघको ठहर छ ।
यस्को नियन्त्रण तथा समाधानको लागी संघको पहलमा गत भदौ २६ गते बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेसँगको छलफलपछि गत असोज १ गतेदेखि गरिएको चेकजाँचले उक्त तथ्यांक फेला परेको हो ।
नेपाल प्रहरी, ससस्त्र प्रहरी बल र नेपाल मत्स्य व्यवसायी संघको पहलमा मकवानपुरको रातोमाटे, सिन्धुलीको भिमान र चितवनको रामनगरमा चेकजाँच गर्दा उक्त तथ्याङ्क भेटिएको हो ।
‘दैनिक चोरी मार्ग भई १००औं साईकलबाट भारतीय माछा नेपाल भित्रिने र नेपाली सप्लायर्सको बिल बनाई पठाउने, भन्सार कार्यलयबाट २ टनको गाडीको भन्सार हुने र अरु ४–५ गाडी माछा सेटिङ्ग मिलाएर आउने र पहिलो गाडिको भन्सार बिल बिजकलाई फोटोकपि गरी बाँकी गाडीहरुबाट माछा आउने’ संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै, गाडीमा माथिबाट केही नेपाली माछा राखेर तलतिर भारतीय माछा लुकाई ढुवानी हुने, भारतमा पुर्ण प्रतिबन्धित र नेपालमा समेत प्रतिबन्ध भईसकेको कालो मागुर माछा काठमाडौंलगायत सबै सहरमा आयात भई खुल्ला रुपमा बिक्री भईरहेको समेत संघले जनाएको छ ।
कार्यक्रममा त्रिविका प्रा.डा. प्रमोद अर्याल, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, अखिल नेपाल किसान महासंघ प्रदेश नम्बर ३ का संयोजक शेखरनाथ आचार्यलगायतले नेपालमा कर छलि गरेर भित्राइएका माछाको तत्काल रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका थिए । संघले जारी गरेको विज्ञप्ति लालबहादुर तामाङले वाचन गरेर सुनाएका थिए ।

तपाइँको प्रतिक्रिया ।