मनकामना मन्दिरको गजुर झिकियो, जीर्णोद्धार सुरु

गोरखाबजार, २५ जेठ । चार सय वर्ष पुरानो प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको गजुर झिकिएको छ । आज बिहान वैधिक विधिअनुसार साइत हेराएर कुभिन्डोको बलि दिएर गजुर झिकिएको हो ।manakamana-temple
हालैको भूकम्पमा मन्दिर एक फुट दक्षिण–पश्चिम ढल्केपछि जगैदेखि भत्काएर जीर्णोद्धारको आरम्भ गरिएको छ । ९१ इन्च गोलाइ र ५४ इन्च उचाइ भएको सुनको जलप लगाएको गजुर मन्दिरबाट झिकिएको मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताउनुुभयो । उहाँका अनुसार मन्दिर परिसरमा रहेको एक कोठामा गजुर सुरक्षित राखिएको छ ।
“मन्दिर जीर्णोद्धार गर्न करिब रु १५ करोड आवश्यक पर्छ” संयोजक श्रेष्ठले भन्नुभयो–“सरकारबाट प्राप्त भएको रु चार करोड र भक्तजनबाट प्राप्त भएको करिब रु पाँच करोडले मन्दिर जीर्णोद्धार गर्नेछौँ ।”
मन्दिर जीर्णोद्धारका लागि मन्दिर परिसरमा रहेका व्यापारीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । “आउँदो तीन वर्षभित्र मनकामना मन्दिर पुनःनिर्माण गरिसक्छौँ” कालीगढ कृष्णगोविन्द हमालले भन्नुभयो–“जीर्णोद्धारका लागि आवश्यक सम्पूर्ण सामान तयार छ ।”
यसैबीच मन्दिरभित्र हुँदै आएको पूजाअर्चना मन्दिर जीर्णोद्धार कार्य सम्पन्न नहुँदासम्म बाहिरै सुचारु गरिने भएको छ । मन्दिर परिसरको चौतारोमा पूजाअर्चनाको व्यवस्था मिलाइएको छ ।
बलि दिने ठाउँ र पूजाअर्चना गर्ने ठाउँको व्यवस्थापन भइसकेको छ” पुजारी इन्सान थापाले बताउनुुभयो । रासस

तपाइँको प्रतिक्रिया ।