संविधानका विवादित विषयमा सहमति, आजै सार्वजनिक गरिने

काठमाडौँ, २५ जेठ । लामो समयदेखिको रस्साकस्सीपछि प्रमुख राजनीतिक दलहरुबीच आज संविधानका मुख्य विवादित विषयमा सहमति भएको छ ।
Four Parties Meetingप्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) तथा मधेसी मोर्चाका शीर्ष नेताको बैठकमा विवादित विषयमा सहमति भएको र आजै साँझ बस्ने अर्काे बैठकमा त्यसलाई सार्वजनिक गरिने नेताहरुले बताएका छन् ।

संविधानको सबैभन्दा विवादित विषय सङ्घीयतामा छ वा आठ प्रदेश बनाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच लामो बहस भए पनि अन्ततः आठ प्रदेशमा सहमति भएको बुझिएको छ । प्रदेशको सीमाङ्कनको जिम्मा आयोगलाई दिने र नामाङ्कन भने प्रदेश सभाले गर्ने सहमति भएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सबै विषयको विवाद टुङ्गिएको जानकारी दिँदै काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बैठकमा काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले “धेरै दिनसम्म पर्खनु हँुदैन, अब विवाद टुङ्ग्याउनु पर्छ” भनेको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री कोइरालाले सहमति हुन्छ भने आठ प्रदेशमा भए पनि जानुपर्छ भन्नुभएको थियो ।

कति प्रदेशमा सहमति भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता बडूले भन्नुभयो, “अधिकतम् आठ प्रदेश भनेकाले आठमै सहमति भएको बुझ्नुपर्छ ।” आजै साँझ लिपिबद्ध गरेर सहमति सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने प्रदेशका सम्बन्धमा कुरा नमिलेको जानकारी दिँदै छ भन्दा बढी प्रदेश बनाउन नहुने बताउनुभयो ।

संविधान बनोस् भन्ने पक्षमा आफू रहेको बताउँदै उपसभापति पौडेलले मुलुकको केन्द्रीय प्रशासन सिंहदरबार बनाउन नसकिएको अवस्थामा धेरै प्रदेश बनाउँदा मुलुकले धान्न नसक्ने बताउनुभयो ।

विवादित विषयमा सबै दलले गम्भीर रुपमा आ–आफ्ना कुरा राखेको र सहमति नजिक पुगेकाले आज विवाद टुङ्ग्याउने सहमति भएको एमालेका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आज साँझ ५ बजे बैठक बसेर विवादित विषयमा टुङ्ग्याउने सहमति भएको जानकारी दिनुभयो ।

मोर्चाका संयोजक विजयकुमार गच्छदारले मुख्य रूपमा छ वा आठ प्रदेशको सङ्घीयता बनाउन सकिने बारेमा दलहरु सहमति नजिक पुगेको जानकारी दिनुभयो ।

अधिकांश विषयमा सहमति भइसकेकाले आजै बस्ने अर्काे बैठकमा विवाद टुङ्गिने नेता गच्छदारले बैठकपछि सञ्चारकर्मीलाई बताउनुभयो ।

बैठकमा काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मोर्चाका संयोजक गच्छदारलगायतका नेताहरुको समेत सहभागिता थियो ।रासस

तपाइँको प्रतिक्रिया ।