कागेश्वरी महादेव मन्दिरमा भक्तजनहरुको भिड

कागेश्वरी महादेव मन्दिरमा  भक्तजनहरुको भिड

कपन अनलाइन 

काठमाडौं भाद्र १९ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी मेला भर्ने दर्शनार्थीहरुको भिड लागेको छ। प्रत्येक बर्ष भाद्र शुक्ल अष्ट्मीको दिनमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिन सम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् ।

 

कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ । श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ ।नयाँ शिष्यलाई कागे अष्टमीका दिन कागेश्वर महादेवलाई साक्षी राखी गुरुमन्त्र दिने  गरिन्छ  ।गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।

उपत्यकाको मनमोहक दृश्यावली अवलोकन गर्न, स्वच्छ सुन्दर वातावरणको अनुभव लिन तथा आकर्षक ग्रामीण भेग नियाल्नको लागि पनि सो उपयुक्त स्थल रहेको र बार्है महिना आन्तरिक तथा बाह्य पर्यटक आउने वातावरण निर्माणको लागि परेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द गजुरेलले बताए ।

मेला लाई मध्यनजर गर्दै मनोहरा जेसिस , नेपाल स्काउट ,स्थानीय स्वयं सेवक, प्रहरीहरु लगायत मेला व्यवस्थापन समितिले मेलालाई सहज बनाउन सक्रिय भूमिका खेलेका छन ।  कागेश्वरी मनोहरा नगरपालिकाको नामाकरण समेत सोहि कागेश्वरी  महादेव   मन्दिर बाट भएको हुँदा आज एक दिन नगरपालिकाले सार्वजनिक  बिदा दिएको छ ।

तपाइँको प्रतिक्रिया ।