अवस्था : शुभ शर्मा (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ४।
उनको बल बुद्धि मात्र होइन, बोली पनि बिक्थ्यो । आखिर राष्ट्रिय स्तरका फुटबल खेलाडी न थिए । ‘साह्रै घमण्डी छ ।’ भन्नेहरूको कमी थिएन तर पनि फुटबलको मैदानमा उत्रिएपछि ट्रफी चुम्ने हिम्मत अरूले गर्दैनथे । यदाकदा अर्कोको पोल्टामा जीत गयो भने उनी ‘धाँधली भयो’ भनेर आक्रोस पोख्थे । अरुबाट शुभकामना तथा बधाई पाउँदा नाक फुलाउने उनी, अरूलाई दिनु पर्दा निकै कन्जुस गर्थे । अन्य टिमको प्रशंसा गरेको निहुँमा एकपटक झण्डै आफ्नै साथीको टाउको नै फुटाएका थिए ।
कोरोना महामारीको कारण खेलकुद क्षेत्र पनि प्रभावित भयो । लामो समयपछि बल्ल अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने भयो । नेपालले पनि सहभागिता जनाउने भयो । व्यबस्थापक र साथीभाइले उनै खेलाडीको खोजी गरे तर उनी कसैसंग सम्पर्कमा आएनन् । सहभागीहुने खेलाडीहरूको सूचिमा यसपटक उनको नाम थिएन । उनका समर्थकहरू निरास भए ।प्रतियोगिताको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जालमा एउटा स्ट्याटस् पोष्ट गरे । जसमा प्रतियोगी खेलाडीहरूलाई हौसला तथा शुभकामनाका सन्देशहरू व्यक्त गरेका थिए । साथमा बैसाखीको सहारामा उभिएको आफ्नो भावुक तस्बिर पनि थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक