सृष्टिको धूलो : गंगा लिगल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,साउन २८।
के छैन यस सृष्टिको धूलोमा
सम्पूर्ण जीवन वस्तुहरू छन् यहाँ
अनन्तको मार्ग छ यहाँ
असीमित ब्रम्हाण्ड छ यहाँ
महत्वाकाङक्षी कैयन
जीवनहरू छन् यहाँ
प्रत्येक जीवात्माका
अश्रु–मिश्रित
कणहरू छन् यहाँ
के छैन ………..
कैयन क्षितिजका
अपरिहार्य सीमानाहरू छन् यहाँ
जीवनका उपहासहरू पनि
देखिन्छन् यहाँ
कल्पनातीतका स्वर्णिम
विपनाहरू पनि
देखिन्छन् यहाँ
सांसारिक छक्का पंजाका
असन्तुलित परिबन्द पनि
भेटिन्छ यहाँ
के छैन ………
छत्तीस जातिको
फूलवारीमा
अनगिन्ती सुन्दर
फूलका, चुम्बनहरू छन् यहाँ
त्यहि सौन्दर्यको
प्रिवेशमा
कष्टमय जीवन पनि
देखिन्छ यहाँ
के छैन …….
हरियालीको गन्धले
असुरक्षित सुन्दर पन्छीहरू
सुरम्य जङ्गलको खोजीमा
भटकिरहेको निरन्तरता
पाइन्छ यहाँ
कलिला विरुवाहरू
आशामुखी भै
आधारको खोजीमा
आफूलाई समर्पित गरिरहेको
आभास पाइन्छ यहाँ
के छैनै ………
दीनताले मर्म–स्पर्शी
क्रन्दन बोकेको
जीवात्माका निरन्तर
आर्तनाद
सुनिन्छ यहाँ
भारी बिसाउँदै
क्षणिक आनन्दको संसारमा
विचरण गर्नेहरू पनि
भेटिन्छन् यहाँ
के छैन ……
माटोको मुस्कानलाई
प्रफुल्लता दिलाउने
अनेकन बाटाहरू
छन् यहाँ
तर मुस्कानलाई
उपहासको भाषाले
बोलाउने
क्रन्दनको रुप पनि
पाइन्छ यहाँ
के छैन …….
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक