नेसनल प्याब्सन काठमाण्डौले लोक नृत्य प्रतियोगिता गर्ने, पहिलो हुनेलाई २० हजार पुरस्कार

कपन अनलाइन
काठमाडौं, २५  ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (एन प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिले आगामी भदौ ७ गते उपत्यकाव्यापी विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता–२०७९, चौथो संस्करणको आयोजना गर्ने भएको छ ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराईएको हो । उक्त प्रतियोगिता भने काठमाडौंस्थित नेपाल प्रज्ञा भवन, कमलादीमा हुनेछ । सो प्रतियोगिताको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गर्ने भएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक टंकबहादुर थापाले प्रतियोगितामा भाग लिने प्रत्येक विद्यालयलाई प्रवेश शुल्क ५ हजार र विज्ञापन ब्यानर शुल्क १ हजार रुपैयाँ लाग्ने जानकारी दिए । उनले प्रतियोगितामा कक्षा ५ देखि १० कक्षासम्मका ८ देखि २४ जना विद्यार्थीहरुको समूहले सहभागिता जनाउनसक्ने जानकारी दिए । प्रतियोगीहरुले बढीमा ५ मिनेटभित्र आफ्नो नृत्य प्रस्तुत गरिसक्नुपर्ने प्रावधान राखिएको पनि उनको भनाई छ । संयोजक थापाले प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत, संगीत नेपाली लोककला, रीतिरिवाज साथै सम्बन्धित संस्कृतिको मौलिकता झल्कने हुनुपर्ने बताए ।
त्यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, काठमाडौं जिल्ला अध्यक्ष खड्ग बहादुर बस्नेतले कोरोना महामारीले सबै क्षेत्रमा असर गरेको भन्दै शैक्षिक क्षेत्र पनि यसबाट मुक्त नरहेको बताए । उनले कोरोना महामारीका कारण निजी शिक्षा प्रदायकका लगानी, बैँक कर्जा, ब्याज, घर भाडा र शिक्षक–कर्मचारीको तलब सुविधालगायत वित्तीय क्रियाकलापमा असर गरेको सुनाए ।
उनले कला र संस्कृति नै देशको धरोहर हो भन्दै उनले त्यसको जगेर्ना र संरक्षण गर्न प्रतियोगिताको आयोजना गरिएको स्पष्ट पारे । उनले प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कारको साथमा प्रमाणपत्र तथा ट्रफी प्रदान गरी पुरस्कृत गरिने पनि जानकारी दिए । साथै, चौथोदेखि दशौं स्थानसम्मको नृत्यलाई ट्रफी र प्रमाणपत्र दिइनेछ ।
त्यसैगरी, सर्वोत्कृष्ट भेषभुषा, नृत्य निर्देशकलाई पनि प्रमाणपत्र र ट्रफी प्रदान गरिने उनले बताए । उनले भने,‘नृत्यको स्तर, सिर्जना, मौलिकता, चाल, ताल, प्रस्तुति, भेषभुषा, श्रृंगारमा एकरुपता, अनुशासन साथै नृत्य समयभित्र प्रस्तुत गरिएका सम्पुर्ण हाउभाउका आधारमा निर्णायकहरुले निर्णय गर्नुहुन्छ ।’
यसैगरी, संस्थाका सचिव अमृतकुमार खड्काले प्रतियोगितामा सक्रिय सहभागिताको लागि काठमाडौं उपत्यकामा रहेका विद्यालयहरुलाई आग्रह गरे । खड्काले आगामी भाद्र ६ गते सोमबार गोला प्रथाद्धारा प्रदान गरिने कोड नम्बरको आधारमा विद्यालयलाई प्रतियोगितामा नृत्य प्रस्तुत गर्न बोलाइने पनि जानकारी दिए । निर्णायक मण्डलमा तीन जना लोक, संस्कृति, कला, साथै नृत्य विशेषज्ञहरु हुने र निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुने उनको भनाई थियो ।
प्रतियोगितामा ट्रिटन इन्टरनेशनल कलेजले ट्रफी, मेडल र प्रमाणपत्रको सौजन्य गरेको छ भने नमस्ते खोप्पो टेलिभिजन भक्तपुर र लाइफ ओके टेलिभिजन पेप्सीकोलाले प्रत्यक्ष प्रशारण गर्ने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।