घरको मूलढोकामा नागको चित्र टाँसी नागपञ्चमी पर्व मनाइदै

घरको  मूलढोकामा नागको चित्र टाँसी नागपञ्चमी पर्व मनाइदै

कपन अनलाइन 

काठमाडौँ, साउन १७। प्रत्येक  वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ ।

आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको छ ।वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

नागपञ्चमीका दिन बिहान सबेरै पुरोहित द्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ ।आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटी लगायतका प्रसाद चढाउने गरिन्छ । आज  पशुपतिको वासुकी, नागपोखरी, टौदह लगायतका स्थानमा मेला लाग्ने गर्दछ ।

तपाइँको प्रतिक्रिया ।