नेता महात्म्य : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,साउन १४।
१. गरी आयौँ कुरा यौटा काम अर्को सधैँ भरी
यो बेला पनि के सक्थ्यौँ बोल्नु प¥यो त्यसै गरी
विरोध बाहिरी मात्रै भित्र भित्रै भन्यौँ ठिकै
आफ्नो स्वार्थ मिले भैगो, देश जाओस् जतासुकै।
२. राम्रो भनौँ भने पक्कै त्यसले चोट लाग्दछ
नराम्रो छ भनौँ आफ्नै हातको भोट भाग्दछ
खाऊँ भने नमीठै हो नखाऊँ पनि त्यो दुखै
देखे पनि नदेखे झैँ, देश जाओस् जतासुकै ।
३. अरूले जब क्यै गर्छन् धुवाँधार विरोध छ
त्यसै गर्ने परे आफू भन्दै कहाँ निषेध छ ?
लुतो दलिन्न त्यो भन्ने फेरि दल्ने स्वयं लुतै
काइदा फाइदाको हो, देश जाओस् जतासुकै ।
४. सत्तामा रहँदा प्यारो नरहे त्यही हो विष
एउटै धारणा राखौँ बिग्रन्छ कति ट्याक्टिस
अँध्यारो छ भने मैले भन्नु पर्छ सधैँ यसै
बेलाको गर्दछौँ बोली, देश जाओस् जतासुकै ।
५. जाली तन्त्र भयो जाली कुरा मात्र गरेपछि
गाली तन्त्र भयो गाली यत्रतत्र छरेपछि
छान्नु राम्रो नराम्रो के ? छाम्दा जानिन्छ यो उसै
ऐन त्यो अरुकै लागि, देश जाओस् जतासुकै ।
६. मलाई सम्झनू होला त्यसै आँट्नु परे कतै
मलाई सम्झनू होला ठाडै ढाँट्नु परे कतै
छन् आश्वासनका पोका, को उप्काउँछ त्यो सधैँ
बिर्सियून् जनताले भो, देश जाओस् जतासुकै ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक