आज अन्तर्राष्ट्रिय  बाघ दिवस

कपन अनलाइन 

काठमाडौं, साउन १३ ।आज अन्तर्राष्ट्रिय  बाघ दिवस ।हरेक वर्षको जुलाई २९ तारिकका दिन बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले बाघ दिवस मनाइन्छ ।सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको थियो । तत्कालीन बेलामा मञ्चले पहिलो विश्व बाघ सम्मेलन गरेको थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लादमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो ।

त्यसयता हरेक वर्ष जुलाई २९ तारिकका दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाइँदै आएको छ । यस दिन बाघको संरक्षणार्थ उनीहरूको मुद्दा उठाउनुका साथै बाघको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको  ह्रास बारे  जनचेतना वृद्धि, र बाघ संरक्षणमा भए, गरेका प्रयासहरूबारे चर्चा गरिन्छ ।बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। सन् २०२२ भित्र बाघको संख्या दोब्बर  पुर्याउने  प्रतिबद्धता नेपालले सन् २०१० मा जनाएको थियो। त्यतिबेला नेपालमा १ सय २१ बाघ थिए ।१२१ को दोब्बर २ सय ४२ हुने भए पनि सरकारले २ सय ५० लाई दोब्बर मानेको छ । यसअनुसार नेपाल लक्ष्य नजिक पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

नेपालसँगै १३ मुलुकले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । नेपालसँगै भारत, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस्, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको हो ।

तपाइँको प्रतिक्रिया ।