नेश्नलिष्ट पिपल्स पार्टीले सार्वजनिक गर्यो अवधारणा,आलंकारिक राजसंस्था हुने व्यवस्था गरिने

नेश्नलिष्ट पिपल्स पार्टीले सार्वजनिक गर्यो अवधारणा,आलंकारिक राजसंस्था हुने व्यवस्था गरिने

कपन अनलाइन
काठमाडौं,  साउन २।
नेश्नलिष्ट पिपल्स पार्टीले आफ्नो अवधारणा सावजनिक गरेको छ । सो पार्टीले अहिलेको राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसक्ने पनि निश्कर्ष निकालेको छ ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले आफ्नो अवधारणा सार्वजनिक गरेको हो । सो क्रममा पार्टीका प्रचार–प्रसार विभागका प्रमुख हेमविक्रम सिलवालले २०४६ सालपछि आएका दलभन्दा आफूहरुको दल फरक विचारले अघि बढ्ने बताए ।
उनले भने,‘देशको स्थिति हेर्दा आज अर्थतन्त्र चौपट छ । महँगीले आकाश छोएको छ । भ्रष्टाचार मौलाएको छ । यस्तो अवस्थामा किन पार्टी खोलेको त भन्ने प्रश्न उठ्नु स्वभाविक हो । बुहुदलीय व्यवस्थामा राजनीतिलाई सुधार गर्नेपनि राजनीतिले नै हो । यो व्यवस्थाप्रति हाम्रो पार्टी सहमत छैन् । आत्माआलोचनासहित आसन्न आम निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा भाग लिने हाम्रो रणनीति छ । राजनीतिक परिवर्तनका तीन उपाय छन्, ती भनेका ब्यालेट, शान्तिपूर्ण आन्दोलन, बुलेट हो । हामी शान्तिपूर्ण रुपमा देशको विकास गर्न सकिन्छ भनेर विश्वास गरेर हिँडेका छौं । हामीसँग देश सपार्न सकिन्छ भन्ने अवधारणा छ ।’
नेपालको प्रजातान्त्रिक आन्दोलनको ३२ वर्ष व्यतित हुँदासमेत देशमा आमूल परिवर्तन र विकास नभएको उनको जिकिर छ । उनले भने,‘यो भन्दा त निर्दलीय व्यवस्था, पञ्चायती प्रजातन्त्रले नै विकास गरेको थियो, त्यो व्यवस्थाले जति विकास गर्यो, ०४६ सालपछि विकास र समृद्धि भएन । आज समाजमा उद्योग सञ्चालन गर्दा पनि नाफा कमाउने अवस्था छैन् । भएका उद्योगहरु पनि बन्द गरिएको छ । यो व्यवस्थाले देश कंगाल भयो । आलंकारिक रुपमा संवैधानिक राजसंस्था हुने व्यवस्था गर्नुपर्छ । जनताको छोरा प्रत्यक्षि निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौं ।’ उनले सांसदले त कानून बनाउने सुनाए । उनले भने,‘मुलुकको स्थिरताको लागि यो आवश्यक छ । हामी यो निर्वाचनलाई उपयोग गर्छौं ।’
उनले नेपाल कृषिप्रधान देश हो भनेरमात्रै केही नहुने भन्दै त्यसको लागि सोहीअनुसारको नीति अख्तियारी गर्नुपर्नेमा जोड दिए । उनले भने,‘हाम्रो पार्टीको नीति तथा कार्यक्रम भनेको देश कृषिप्रधान भनेर गाथा मात्रै गाएर हुँदैन्, यसको लागि केही गर्नुपर्छ भन्ने छ, अहिले नेपालीहरुले ८४ प्रतिशत खाद्यान्न विदेशबाट आयात गरेर खानुपरेको छ । जनताले समयमा मल पाएका छैनन् । किटनाषक औषधी पाएका छैनन् । यो देश उर्वर भूमि हो । पहिलो र दोस्रो विश्वयुद्ध हुदा नेपालले कोरियादेखि भियतनामसम्म खाद्यान्न दियो, तर आज हाम्रो अवस्था चिन्ताजनक छ । हामी आफू सुध्रिनुपर्छ । यो निर्णय गर्ने अधिकार हामीसँगै छ । कृषि क्रान्ति गर्नुपर्छ । जनताको सुपरमार्केटको व्यवस्था नगर्ने हो भने देशको अवस्था दयनीय हुने छ ।’
सिलवालले नेपाली गाडीमा इम्बोस्ड नम्बर प्लेट हाल्ने षड्यन्त्र गरिएको पनि आरोप लगाए । उनले नेपाल सक्कली हिन्दूस्तान भएको उल्लेख गरे । उनले भने,‘हामीले परम्परा र आधुनिकता जोडेर अघि बढ्नुपर्छ । सर्वपक्षीय सम्मेलन गरौं र देशलाई निकास दिऔं । नत्रभने नेपाल ढिलो÷चाँडो कोल्याप्स हुन्छ ।’
यस्तै, कार्यक्रम सञ्चालन नेता कान्तबहादुर पौडेलले गरेका थिए । उनले अहिले भएका पार्टीेले गलत गरेपछि नै आफूहरुको पार्टी जन्मिएको सुनाए । उनले भने,‘हाम्रो पार्टी अरुजस्तो ठूलो जमात होइन । केन्द्रमा ८५ जना छौं । प्रदेशमा ४५ जन, जिल्लामा ३५ जना अनि गाउँ तथा नगरमा २५ जना सदस्य रहन्छौं । वडामा १५ जनाको टिम हुन्छ । हाम्रो टोलमा पनि उपस्थित् हुन्छ । टोलमा ११ सदस्यीय संरचना छ । यसरी हर्दा हाम्रो ६५ लाख कार्यकर्ता यो देशमा उपस्थित् हुन्छन् । राजनीतिक हिसाबले हामी सधैंभरि बहुमतमा रहनेछौं ।’
कार्यक्रममा अवधारणापत्र पार्टीका सहसचिव कृष्णबहादुर केसीले वाचन गरेका थिए । अहिलेको शासन व्यवस्था पूणतय खलबलिएको भन्दै विधिको शासन स्थापना गर्ने पनि पार्टीले जनाएको छ । देशभक्त, राष्ट्रवादी र जनतान्त्रिक सबै शक्ति मिलेर नागरिक सर्वोच्चता कायम गर्ने पनि पार्टीको अवधारणा रहेको छ । सक्रिय रुपमा काम गर्न नसक्ने अशक्त सदस्यहरुको लागि खातामा पनि प्रति महिना यथेष्ट रकम जम्मा गर्ने योजना पनि उक्त पार्टीले सुनाएको छ ।
समाजवादी र पुँजीवादी दुवै आधारमा देशलाई व्यवसायीकरण गरिने र राष्ट्रले नै उद्योग सञ्चालन गरेर वैदेशिक आयात घटाउँदै ३० प्रतिशतमा सिमित गर्ने पनि पार्टीको अवधारणा रहेको छ ।
सो क्रममा विभिन्न पार्टी परित्याग गरी नेश्नलिष्ट पिपल्स पार्टीमा प्रवेश गरेका थिए । यसरी प्रवेश गर्नेहहरुमा कर्णबहादुर थापा मगर, गोपाल बहादुर थापा, विनोद लामिछाने, युवराज श्रेष्ठ, अनिता धिताल, विमला भट्टराई, आनन्दप्रसाद लुईटेल, राजन चुँडाल र शान्तुराम भट्टराईलगायत थिए । उनीहरुले पनि यो पार्टीले नै देश र जनताको हितमा काम गर्ने देखेर आफूहरु प्रवेश गरेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।