आस्था : किशन पौडेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार २५ ।
रोग, भोक र गरिबीसँग लड्दालड्दै अचानक उसको मृत्यु भयो । विभिन्न राजनीतिक दलका कार्यकर्ताहरू आफ्नो आस्थाका झन्डाहरू बोकेर घाटमा आइपुगे ।
‘ऊ हाम्रो पार्टीको सक्रिय सदस्य हो, हाम्रो पार्टीको झन्डा ओढाएर सदगद गर्नुपर्छ’ भन्दै एउटा कार्यकर्ता उफ्रियो ।
कहाँ हुन्छ ?उसको तीन पुस्तादेखि नै हाम्रो राजनीति पार्टीमा समर्पित छन् ।’ अर्को पार्टीको बुज्रुक कड्कियो ।
‘यो हुनै सक्दैन चुनावमा हाम्रो पार्टीको झन्डा बोकेर ऊ सक्रिय भएर हिँडेको थियो । हाम्रो पार्टीको झन्डा ओढाएर मात्र सदगद गर्नुपर्छ ।’ हातमा झन्डा बोकेर छेउमा उभिएको अर्को कमरेड करायो ।
विवाद र झडपले उग्ररूप लिँदै गयो । एक अर्कोमा हात हालाहाल भयो । आफन्त र मलामीहरू पनि सबै आफ्नो आफ्नो आस्था भएको पार्टीतर्फ विभाजन हुँदै भिड्न थाले ।
चितामा लम्पसार लास आस्था विहीन मौन थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक