बर्तमान सरकार काम चलाऊमा परिणत

राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको संसद सदस्य नभएकोले उहां स्वत पदमुक्त भएको जनाएको छ । राष्ट्रपति कार्यालयले आज सांझ जारी गरेको विज्ञप्तिमा नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा ७मा प्रधानमन्त्री पदमुक्त हुने ४ वटा कारणहरु मध्ये निज ब्यवस्थापिका संसदको सदस्य नरहेको भन्ने बाक्यांश रहेको र संविधानसभा र ब्यवस्थापिका संसदको अस्तित्व २०६९ जेठ १४ गते रति १२ बजेबाट समाप्त भएको, ब्यवस्थापिका संसदको सदस्यको हैसियतमा प्रधानमन्त्रीको उम्मेदवार बनी निर्वाचित भएका तत्कालीन संविधानसभाका सदस्य बाबुराम भट्टराईको सदस्यता समेत संविधानसभाको समाप्तिसंगै स्वतः समाप्त हुन गएको जनाईएको छ ।

राष्ट्रपति कार्यालयले नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा ९ मा उपधारा ७ बमोजिम प्रधानमन्त्री पदबाट मुक्त भएपनि अर्को मन्त्रि परिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य संचालन गरिरहने उल्लेख भएकोले दैनिक कार्य संचालन गरिरहन मन्त्रिपरिषदलाई राष्ट्रपतिले स्मरण गराउनु भएको छ । राष्ट्रपतिले देशको पछिल्लो राजनीतिक अवस्थाप्रति जिम्मेवारी बोध गर्दै राजनीतिक सहमति र सहकार्यको संस्कृतिलाई प्रोत्साहित गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

तपाइँको प्रतिक्रिया ।