कृष्ण राई र प्रेरणा विद्यालयलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिने

कृष्ण राई र प्रेरणा विद्यालयलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिने

कपन अनलाइन
काठमाडौं, असार १३।

मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राईले पाउने भएका छन।

यसैगरी फाउण्डेसनले यो वर्षबाट सुरु गरेको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने भएको छ ।

सोताङ अर्गानिक फार्म प्रा.लि सञ्चालन मार्फत राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पुर्याएको योगदान स्वरूप एक लाख पुरस्कारको राशिको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेसनले जनाएको छ ।

७१ औँ मदन जयन्तीको अवसरमा यही असार १४ गते राष्ट्रिय सभामा आयोजना हुने विशेष कार्यक्रममा  उमेर र विपन्नताको कारण शिक्षाको पहुँचबाट टाढा हुन पुगेका किशोरी र महिलालाई विद्यालय शिक्षाको पहुँचमा पुर्‍याउने अभियानको नेतृत्व गरेको प्रेरणा माध्यमिक विद्यालय ललितपुरलाई  मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेसनले जानकारी दिएको  छ ।

फाउण्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने राष्ट्रिय पुरस्कार  यस अघि हास्य कलाकार मह जोडी, शहिद पार्क हेटौँडा, मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन,धुर्मुस सुन्तली फाउण्डेसन, प्राडा सुबोध शर्मा, स्टाफ नर्स सुनिता सहकारी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङले प्राप्त गरिसकेका छन।

 

तपाइँको प्रतिक्रिया ।