मानसिकता : आस्था निरौला (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार ११ ।
‘हेर हेर अलच्छिना, आज फेरि दुधपोखेर मरिछे । यस्ता कुलङ्घार्नी पनि किन बाँच्नु ? मर्नु नि गएर’ आफ्नै दिदीका कठोर वचन सुनेर रमाले गहभरी आसु पारी । बोलौँ भने कुटाइ खाने डर, नबोलौ भने रात दिनको यस्तै यातना ! रमा यस्ता घरेलु हिंसा सहन बाध्य थिइन् । समय बित्दै गयो । टुहुरी रमा, बुबाको सपना पुरा गर्न केही बोल्दिनथिन् । मर्ने बेलामा बुबाले भनेका वाक्य सम्झिन् ‘कान्छी छोरी पढेर ठूली मान्छे हुनु ! आमाको स्याहार गर्नू ।’
दाइदिदीहरू उनलाई फिटिक्कै माया गर्दैनथे । शारीरिक अपाङ्ग भएकै कारणले उनी बोझ बनेकी थिइन् । कुटाइ र पिटाइ सहँदै हुर्किन् । घरको सारा काम भ्याएरै पढ्थिन् ।
आज पानी खान लाग्दा पोखियो। दिदीले दुर्वचन बोलिन् । आमा सुनेर रूनु भयो । बैनीले लुकीलुकी पढेर शाखा अधिकृतमा नाम निकालिन् दिदीलाई असह्य भयो । आज नै हात परेको बैनीको नियुक्ति पत्र च्यातचुत पारेर फालिदिइन् । कराउँदै ठूलो स्वरले भनिन्, कहाँ, कसरी यसले पास गरी ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक