हरिप्रसाद : गीता सापकोटा ( कथा )

हरिप्रसाद : गीता सापकोटा ( कथा )

कपन अनलाइन

काठमाण्डौ ,असार ४ ।

काठमाडौँ सहरमाहुर्किएका मेरा छोराछोरी यहाँको वातावरणमा दिनभरि राम्ररी भुल्छन् । नभुलून् पनि कसरी ?बिहान झिसमिसेदेखि साँझ झमक्क पर्दासम्म हामी बुढाबुढी रोजीरोटीका लागि खट्नु परेकै छ । साँझपख दिदीभाइ एकछिन खेल्छन् । केही समय विद्यालयमा भए गरेका कुरा एक अर्कालाई सुनाउँदै निकै रमाइलो गर्छन् । रातिको खाना खाइसकेपछि केहीबेर गृहकार्यमा लाग्छन् । उनीहरु प्रायः साढे नौ बजे भित्र सुतिसकेका हुन्छन् । मलाई मेरा छोेराछोरीको दैनिकी देखेर रमाइलो लाग्छ ।
छोराछोरी दुबै जना सधैँ निधाउनु अगाडि मलाई एउटा कथाभन्न लगाउँछन् । बाबुकै कथाको आनन्द लिएपछि मात्रउनीहरु निधाउने बानी परेकाछन् । छोराछोरीका लागि कथा भन्न म पनि तयारी अवस्थामा नै हुन्छु । आज छोराछोरीले सधैैँ झैँ मलाई नयाँ कथा भन्न अनुरोध गरे ।
छोराछोरी ओल्लो पल्लो खाटमा सुतेका थिए । मैले पनि भुईँको गलैँचामा बसेर भित्तामा ढाड राखेँ र दिनभरिको थकान मेट्दै  कथा भन्न थालेँ । मेरा कथामा हरिप्रसाद पात्र निकै सङघर्षशील थिए । छोराछोरी एकअर्काका आँखा जुधाउँदै मेरो कथा सुन्दैथिए । म भन्दै गएँ, ‘हरिप्रसाद गरिबको छोरो थियो । उसलाई पढ्न र लेख्न सानैदेखि निकै रुचि थियो । विद्यालयपनि त्यति नजिक थिएन ।करिब एकोहोरो विद्यालय जानमात्र डेढ घण्टा लाग्थ्यो । ऊ दैनिक तिन घण्टाको बाटो ओहोर दोहोर गरेर पढ्ने गर्थ्यो  ।’ मैले हरिप्रसादको कथाभन्दै गर्दा छोरीले सोधी, ‘अनिबाबा, त्यति लामो बाटो ऊ बस चढेर गएको भए हुन्थ्यो नि त ।’ ‘हैन, उसको घर दुर्गम गाउँमा थियो । त्यहाँ बस चढ्नका लागि बाटाघाटा थिएन ।उसले त साँच्चै भन्नु पर्दा बस नै देखेको थिएन ।’ मैले भनेँ । छोरोले फेरि प्रश्न सोध्यो, ‘बाबा, ऊ मामा घर जाँदा त पक्कै बस चढ्थ्यो होला नि !’ म छोराको जिज्ञासा सुनेर मुसुक्क मुस्कुराएँ । उनीहरुलाई लाग्यो, बाबाले त्यतिकै कथाबनाउँदै हुनुहुन्छ । तर यी सबै यथार्थ थिए । मैले भने, ‘हेर बाबु, उसको मामा घर पनिअर्को त्यस्तै दुर्गम गाउँमाथियो । दिनभरि हिँडेपछि बल्लबल्ल रातीमात्र मामा घर पुगिन्थ्यो । उनीहरुले हिँड्ने बाटामा कतै गाडी चल्दैन थियो ।’ बाबाका कथा सुनेर दुबै जनाले कान ठाडा पारे । आँखा तन्काएर हेराहेर गरे ।उनीहरुमा एकप्रकारको आश्यर्चको भाव प्रटक भइरहेको थियो ।
छोरीले फेरि सोधिन्, ‘अनि के भो बाबा?’ ’हरिप्रसाद यसरी नै वर्षौवर्ष स्कुल गइरह्यो । ऊ पढाइमा निकै अब्बल थियो । राम्ररी सबै कक्षामा उत्तीर्ण हुँदै गयो । त्यसपछि ऊ एस्एलसी  परीक्षामा पनि राम्ररी सफलभयो । उसको घरमा अरु दाइदिदीहरु पढेलेखेका थिएनन् । तर घरको कान्छो हरिप्रसादले एस्एलसी पास गर्दा सबै खुसीभए ।’
‘त्यसपछि के भयो बाबा?’ छोरीले हतारहतार प्रश्न सोधी । मैले भन्दै गएँ, ‘त्यसपछि हरिप्रसादलाई माथिल्लो कक्षामा पढ्नका लागि सहर जानुपर्ने भयो । उसलाई पढ्न पठाउन बाबाआमासँग पैसा थिएन । गरिब परिवार, दिनहुँबनिबुतो गरेर दुईछाट टार्थे । हरिप्रसादका लागि सहरको पढाइ आकाशकै फल हुने स्थिति भयो । उसलाई निकै छटपट्टि भयो । केही दिन निदाउन सकेन ।”
एकदिन उसकै विद्यालयका हेडमास्टर उसको घरमाआइपुगे । हरिप्रसादको अबको पढाइका बारे सोधे । हरिप्रसादका बाबाले सहरमा पठाउने हैसियत नभएको गुनासो गरे । अरु कोही केही बोलेनन् । हेडमास्टरले आफ्नै सालो सहरमा भएको हुँदा त्यहाँ बिहान बेलुका काम सघाएर पढ्ने व्यवस्था मिलाइदिने कुरा गरे । उनको कुराले सबैलाई राहतको अनुभवभयो । हरिप्रसादको अनुहारमा खुसीको प्रकाश छायो ।
त्यसको हप्ता दिनपछि हरिप्रसाद काठमाडौँमा पढ्ने उद्देश्यले आयो । उसले काठमाडौँको पुरानो बसपार्कमाआइपुग्न आँटेपछि हेडसरको सालो हेमन्तराजलाई मोबाइलमा फोन गर्यो । हेमन्तराज बसपार्कमा उसलाई लिन गए ।
रातभरिको यात्राले निकै थाकेर बिहानीपख मात्र हरिप्रसाद काठमाडौँ पुगेको थियो । उसले घरबाट लगेको कालो दाल, बेसार र अलिकति खोसार्नी हेमन्तराजकी श्रीमती हेमकलालाई दियो । एकछिन पछि खानाखाएर आराम गर्यो । त्यस दिन त्यतिकै बित्यो ।
भेलिपल्ट उसको नाम लेख्नका लागि हेमन्तराज र ऊ जयबागेश्वरी माविमा गए । उसको भर्ना गरियो । बिहान १० बजे सम्ममा उसको पढाइ सकिने रहेछ । केही समयपछि उनीहरु त्यहाँबाट निस्किए र पोशाक सिलाउन दिन पसलतिर गए । त्यसपछि पुस्तक पसलमा गएर किताब किनेर कोठामा गए । उसले बाटामा सोच्यो, “ए, बिहानको पढाइ रहेछ, दिनभरि घरमा भएपछि त म मौका मिलाएर राम्ररी पढ्छु । कति फुर्सद हुन्छ, हुन्छ ।” हेमन्तराजको डेरा स्कुलदेखि त्यति टाढा पनि रहेनछ । उसलाई त्योे पनि रमाइलो लाग्यो । घरमा आएपछि हेमन्तराजले हरिप्रसादलाई भयो, “अब विद्यालयको पोशाक बनेपछि मात्र तिमी विद्यालय जानू । आज चाहिँ खाना खाएर हामी एकछिन मेरो फ्याक्ट्रीमा जानुपर्छ ।” हरिप्रसादलाई लाग्यो, “अङ्कलले आजमलाई कहाँ लान भनेको होला?” खाना खाएपछि उनीहरु बाहिर गए । दश मिनेट पर अङ्कलहरुको चप्पल फ्याक्ट्री थियो । त्यहाँ हरिप्रसादलाई पुर्याए  । त्यहाँ अरु पनि धेरै कामगर्ने कामदार थिए । हरिप्रसादलाई पनि अङ्कलले फ्याक्ट्रीको काम सिकाए । दिनभरि त्यहीको के के काम गरेर साँझमात्र घर फर्किए । भोलिपल्ट देखि अङ्कल र हरिप्रसाद दिनहुँ फ्याक्ट्री जान थाले । दुईहप्ता सम्म काम गरिसकेपछि बल्लबल्ल विद्यालयको पोशाक अङ्कलले ल्याइदिए । त्यसपछि ऊ बिहानको पढाइका लागि विद्यालय जान थाल्यो । बिहान साढेदश बजेतिर घरमाआएर खानाखाइसकेपछि फेरि चप्पल फ्याक्ट्रीमा काम गर्नु पर्थ्यो  ।

विचरा ! हरिप्रसादका हातभरि घाउ नै घाउ भएका थिए । उसलाई विद्यालयमा उसका साथीहरुले जिस्काउँथे । ऊ भने आफ्नो दुःख सम्झिएर निकै दुःखीबन्थ्यो । त्यति नै बेला छोरीले भनी, ‘उसका साथीहरु कस्ता फटाहा रहेछन् नि बाबा ।’ फेरि छोराले थप्यो, ‘उनीहरुलाई के थाहा र हरिप्रसादको घरको दुःख? त्यहीभएर जिस्काएका होलान् नि हैन बाबा !’ दुवैको जिज्ञासा मनासिव  थियो । म भन्दै गएँ, ‘राती आठ बजेसम्म ऊ फ्याक्ट्रीकै काममा व्यस्त हुनथाल्यो । उसलाई कसैले पनि पढ्ने कुरा गर्दैनन् थिए । उसलाई त्यस बिरानो ठाउँमा लाग्थ्यो, हेर, मान्छे कति स्वार्थी हुँदा रहेछन् । पक्कै पनियी अङ्कल आन्टी पढेलेखेका होलान् । यिनीहरुका छोराछोरी बोडिङ स्कुलमा पढ्छन् । जतिखेर पढ्ने र खेल्ने मात्र गर्छन् । तर मलाई कतिखेरै पढ् भन्दैनन् । बरु मेरा बुबाआमा, विचरा कालो अक्षर भैँसी बराबर थियो, उहाँहरुलाई एक अक्षर पढ्न नआए पनि मलाई पढ्न कत्ति प्रेरित गर्थे ।

दाजुदिदीहरु पनि पढेको देखेर खुसी हुन्थे । यहाँ त मेरो पढाइ बर्बाद हुने भयो ।” हरिप्रसाद केहीदिन त निकै चिन्तामा पर्यो । धेरै दिन ऊ दुःखी भयो । तर एकदिन उसले सोच्यो, “म काठमाडौँ आउनु नै मेरा लागि अवसर होे । काम नगरी त कसलाई पो पुग्छ र ! अब म विद्यालयमा नै निकै ध्यान दिएर पढ्छु । रातीको समय अलिक बढी नै मिहिनेछ गर्छु । दिउँसोे जे जे काम गर्नु परेपछि खुसी भएर गर्छु । मेरा बाआमाको हैसियतअलिक राम्रो थियो भने यस्तो दुःखहुने थिएन । मैले चाहिँ पढेर केही बन्नै पर्छ ।’
हरिप्रसादले राम्रो अङ्क ल्याउने अठोट गरेर पढ्न थाल्यो । मिहिनेतको फल मिठो हुन्छ भनेको साँच्चै रहेछ । उसले दिनभरि फ्याक्ट्रीमा काम गरेर राती रातीनिकै मिहिनेत गरेर पढ्यो । नभन्दै कक्षा ११ को पढाइमा ऊ प्रथम भयो ।उसलाई अति हौसला भयो । उसले अझै मिहिनेत गर्न थाल्यो । बिस्तारै कक्षा बाह्रको पनि परीक्षा दियो ।दुई वर्षपछि ऊ घरमा गयो । घरमा गएर बसेको तिन महिनापछि उसको कक्षा बाह्रको पनि नजिता आएको कुरा उसले रेडियोबाट सुन्यो ।
हरिप्रसादले भोलिपल्ट बिहानै उसको काठमाडौँको स्कुलमा फोन गर्यो  ।फोेन हेडसरले उठाएका थिए । उनले भने, ‘बधाई छ हरिप्रसाद, तिमी नै व्यवस्थापन सङ्कायका प्रथम विद्यार्थी भएका छौ । साह्रै राम्रो अङ्क ल्याएका छौ ।’ हेडमास्टरले बधाई सहित नजिता सुनाउँदा हरिप्रसादको हर्षको सीमा रहेन । उसले घरमा सबैलाई सुनायो, सबै जना खुसी भए । हरिप्रसादलाई अझै उच्च शिक्षातिरको पढाइलाई निरन्तरता दिने इच्छा छँदै थियो ।
केही समयपछि हरिप्रसाद फेरि काठमाडौँ फर्कियो । ऊ त्यही अङ्कल आन्टीको डेरामा पुग्यो ।उसले पढाइमा राम्रो गरेको हुँदा अङ्कलले पनि बधाइ दिए । उसले स्नातक तहका लागि शङ्खरदेव क्याम्पसमा भर्ना गर्यो । त्यहाँ पनि बिहानी नै पढाइ हुन्थ्यो ।दिउँसो उसले पहिला जसरी नै अङ्कलको फ्याक्ट्रीमा सहयोग गर्दै प्रथम वर्षको परीक्षा दियो । दोस्रो वर्षको पढाइ सुरु भए पछि उसले कामको खोजी गर्यो । ऊ पढाइमा निकै अब्बल र बोलीचाली पनि राम्रोे भएको केटो थियो । उसले एउटा निजी बैँकमा काम पायो । हेमन्त अङकलकै घरमा बसेर उसले केही समय जागिर खायो । उसले जागिर खान थालेपछि अङ्कलको फ्याक्ट्रीमा चाहिँकाम सघाउन भ्याएन । तर उसले तलब आउन थालेपछि तरकारी र मासु आफ्नै पैसाले किनेर ल्याउँथ्यो । साँझको समय अङ्कलका छोराछोरीलाई पढाउथ्यो शनिवारको दिनप्रायः अङ्कलको फ्याक्ट्रीमा काम गर्थ्यो  । सकेसम्मको सहयोग गरिरहेकै थियो ।
हरिप्रसादले जेजस्तो सहयोग गरे पनि आन्टी त्यति खुसी देखिन्न थिइन् । सित्तैमा खानदिनु परेजस्तो गरी उनले नराम्रो व्यवहार गर्न थालेकी थिइन् । करिब तिनमहिना पछि चाहिँ अङकलले नै उसलाई डेरा खोजेर छुट्टै बस्न भने । हरिप्रसादलाई त्यहाँबाट निस्किहाल्न मन थिएन । एक्लै बस्ने अनुभव पनि थिएन । तर अङ्कलले भनेपछि उसले केहीदिनमै एउटा कोठा खोजिहाल्यो । कलेजकै नजिक ऊ डेरा गरी बस्न थाल्यो । बिहान कलेजमा पढ्ने दिउँसो जागिर खाने र रातीनिकै मिहिनेत गरेर पढ्ने उसको दैनिकी थियो । उसले घरमाबाआमा र दाइदिदीको दुःख सम्झिएर यता मिहिनेत गर्थ्यो  ।
हरिप्रसादको मिहिनेतको फल राम्रो हुँदै गयो । उसले स्नातकमा पनि कलेज टप्न सफल भयो ।
हरिप्रसादलाई पढ्ने रहर अझै पूरा भएको थिएन । उसले स्नातकोत्तर तहमा पनि भर्ना गर्यो । निजी बैँकमा जागिर खाँदा ऊ सन्तुष्ट थिएन । कतै सरकारी बैँकमा कर्मचारी माग गरिन्छ कि भनेर ऊ दिनहुँ जस्तो पत्रिकामा विज्ञापन पनि हेर्थ्यो  । एकदिन उसले नेपाल राष्ट्रिय बैँकमा मेनेजरको आवश्यकता परेको कुरा समाचार पत्रबाट थाहा पायो । त्यसमा परीक्षा लेख्न उसले सुर कस्यो । ऊ जागिर खाँदै त्यस परीक्षाको निकै राम्ररी तयारी गर्न थाल्यो । परीक्षा लेखेको केही महिनापछि उसको नजिता आयो । उसले मेनेजर पदमा लिखित परीक्षामा एक नम्बरमा नाम निकाल्यो । त्यसपछि अन्तर्वार्तामा पनि ऊ सफल भयो । त्यसपछि ऊ स्नातकोत्तर पढ्दै सरकारी जागिर खानथाल्यो । आजकाल त ऊ सरकारी बैँकका बैँक प्रमुख भएर काम गरिरहेको छ ।
बाबाको कथा सुनेर छोेराले भन्यो, “बाबाहजुर पनि बैँक प्रमुख हुनुहुन्छ । उहाँसँग तपाईँको पनि भेट हुन्छ होला है !” छोरोको कुरा सुनेर मेरो गला अवरुद्ध भयो । फेरि छोरीले पनि उसै गरी प्रश्न सोधी, “भन्नुस् न बाबा, हजुरको त्यो अङ्कलसँग भेट हुन्छ कि हुँदैन ।” छोराछोरीको कुराले म भावुक बनेँ । मेरा आँखामा आँसुले छपक्क छोप्यो । छोरीले भनी, “बाबा, हजुरले किन यसरी आँसु निकाल्नु भएको ?कतै त्यो अङ्कल तपाईँको साथी नै त होइन?”
छोरीका कुरा सुनेर बाबाले भने, “तिमेरु दुबै जना मेरो छेउमा आओ त अनि म भन्छु ।” दुबै जनाबाबाको अगाडि उभिए र ल भन्नु भनेर बाबाको मुखैमा उनीहरुले कान लगेर उत्तरको प्रतिक्षा गरे । दुवैलाई अङ्गालो मार्दै मैले भनेँ, “अहिले तिमेरु त्यही हरिप्रसादको काखमा बसेका छौ । त्यो हरिप्रसाद मै हुँ, मै ।” छोराछोरीले बाबाको कुरा सुनेर हत्त न पत्तबाबालाई हेरे, बाबाका आँखामा आँसु भरिएका थिए । दुबै छोराछोरीले बाबालाई गम्लङ्ग अँगालो हाले र बाबाको आँसु पुच्छै भने,“हजुर हाम्रो महान् बाबा । हजुर हाम्रो हिरो बाबा ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।