इसान द्वारा आयोजित कृष्टिना निबन्ध लेखन प्रतियोगिता सम्पन्न

इसान द्वारा आयोजित कृष्टिना निबन्ध लेखन प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौँ, जेठ २१ ।  क्यान्सर रोग समबन्धि परामर्श तथा निबन्ध लेखन प्रशिक्षण सहितको इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिता २०७९ सम्पन्न भएको छ । जेठ २० गते शुक्रबार  लिम्पिया नेशनल स्कुलमा संस्थागत विद्यालय संघ नेपाल (इसान)को आयोजनामा भएको  उक्त कार्यक्रममा  विभिन्न ३२ विद्यालयका ६४ छात्रछात्राहरू सहभागी  भएका थिए । इसानका केन्द्रीय अध्यक्ष तथा एकताजेम्स इङ्लिस एकेडेमी स्कुल र कलेजका प्रिन्सिपल भीमबहादुर दर्लामीको अध्यक्षता भएको उक्त कार्यक्रम संचालन इसानका केन्द्रीय कमिटीका महासचिव तथा अलमाइटी आइडियल मोडर्न स्कुलका प्रिन्सिपल गणेशप्रसाद खतिवडाले गरेका थिए ।

इसानका वरिष्ठ उपाध्यक्ष तथा लिम्पिया नेशनल स्कुल र कलेजका प्रिन्सिपल मदनराज रेग्मीले स्वागत मन्तब्य राखेको कार्यक्रममा इसानका निवर्तमान अध्यक्ष, इसान पूर्व अध्यक्ष परिषद्का संयोजक तथा होली एन्जेल्स पव्लिक स्कुल र कलेजका प्रिन्सिपल राजकुमार श्रेष्ठले कार्यक्रमको  उदेश्य  माथि प्रकाश  पारेका थिए ।

कार्यक्रममा नेपाल मेडिकल कलेजकी क्यान्सर विभागकी विभागीय प्रमुख डा. रश्मि पुनद्वारा क्यान्सर रोगसँग सम्बन्धित निबन्ध लेखनको अभिमुखीकरण गरेकी थिइन भने  वाल्मीकि क्याम्पसका उपप्राध्यापक तथा साहित्यकार डा. शेखर दाहालद्वारा अभिमुखिकरण प्रशिक्षण पश्चात् विभिन्न ३२ विद्यालयका ६४ छात्रछात्राहरू निबन्ध प्रतियोगितामा सहभागी भएका थिए ।इसानका महासचिव गणेशप्रसाद खतिवडाले निबन्धहरू कोडिङ गरेर निर्णायकहरूलाई दिइसकिएको र निबन्ध प्रतियोगिताको नतिजा एक हप्ताभित्र निकाल्ने र  बिजयी  प्रतियोगीहरुलाई   भव्य समारोहको आयोजना गरेर पुरस्कार वितरण गर्ने  पनि उनले जानकारी गराए ।

अध्यक्षताको आसन बाट बोल्दै  इसानका केन्द्रीय अध्यक्ष तथा एकताजेम्स इङ्लिस एकेडेमी स्कुल र कलेजका प्रिन्सिपल भीमबहादुर दर्लामीले  उपस्थित सबैलाई धन्यवाद दिएका थिए । इसानले बालबालिकाहरुको   सर्वाङगीण बिकासको लागि निरन्तर रुपमा कार्यक्रम गर्दै आएको पनि जानकारी गराएका थिए। उनले स्वास्थ्य नै ठुलो धन भएको हुँदा स्वस्थ समाज निर्माणका लागि बिद्यालय तह देखिनै  रोगहरुको बारेमा जानकारी दिदै त्यसको रोकथामका उपायहरु सिकाउन पनि यस्ता कार्यक्रम उपयोगी हुने बिश्वास ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।