म भविष्यप्रति आशावादी छु : प्रधानमन्त्री

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले आफू नेपाली र नेपालको भविष्यप्रति अत्यन्त आशावादी रहेको बताउनुभएको छ ।

उहाँले सो कुरा आज प्रधानमन्त्री निवा

स बालुवाटारमा भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आउनुभएको नेपाल बैंक लिमिटेडका कर्मचारीसँंग बताउनुभएको हो ।

कर्मचारीले प्रदान गरेको ८७ लाख २५ हजार ६०५ रुपैयाँ ८० पैसाको चेक ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “सरकारको त केन्द्रीय तहदेखि स्थानीय तहसम्म संरचना छ । यस्तो संरचनाबाट सहयोग पुग्दैन भनेर अफवाह फिजाउनेसँग सतर्क रहनु पर्छ ।”

उहाँले यो अप्रत्याशित भूकम्पको अकल्पनीय विनाशबाट पीडितको खोजी, उद्धार, राहत र पुनः स्थापनाको कार्यलाई विदेशीले सराहना गरेको बताउनुभयो । जस्तोसुकै विकसित मुलुकमा पनि प्राकृतिक प्रकोपको व्यवस्थापन गर्न पाँच÷सात दिन लाग्ने बताउँदै उहाँले भन्नुभयो, “सीमित स्रोत साधन, सीमित जनशक्ति र उपकरणका बीचमा नेपालमा जुन ढङ्गले काम भयो, त्यो सराहनीय छ ।”

भेटमा बैंकका महाप्रबन्धक देवेन्द्रप्रताप शाहलगायत विभिन्न कर्मचारी तथा सङ्घसङ्गठनका प्रतिनिधिको उपस्थिति थियो ।

अनुसन्धानको पचास लाख
आजै बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागले उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।

विभागका प्रमुख दिलीप रेग्मीले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

आडराको पाँच लाख
आजै अस्ट्रेलियामा कार्यरत नेपालीको आधार आडरा डेभलपमेन्टले पनि कोषमा सहयोग प्रदान गरेको छ ।

संस्थाका प्रतिनिधिले रु. पाँच लाखको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।

हिमालय टर्मिनलको पाँच लाख
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हिमालयन टर्मिनलका आरबी रौनियारले रु. पाँच लाख सहयोग गर्नुभएको छ । सो संस्थाले वीरगन्ज सुक्खा बन्दरगाहको सञ्चालन गर्दै आएको छ ।

विदेशी मुद्रा व्यवसायीको साढे तीन लाख
आजै प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा विदेशी मुद्रा व्यवसायी सङ्घका तर्फबाट रु. तीन लाख ५१ हजार १११ प्राप्त भएको छ ।

सङ्घका पदाधिकारीले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई प्रदान गर्नुभएको थियो ।

विवाहलाई छुट्याएको रकम कोषमा
सुरेन्द्र माथेमाले छोरी प्रिती माथेमाको विवाहका लागि छुट्याएको मध्ये रु. दुई लाख भूकम्पपीडितको सहयोगका लागि प्रदान गर्नुभएको छ ।

सो रकम माथेमा, उहाँकी पत्नी माला माथेमा, छोरी प्रिती र ज्वाइँ जेसी टिस (अमेरिकी नागरिक)ले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा माथेमाले मुलुक दुःखमा रहेको बेलामा तामझाम गरेर विवाह गर्न इच्छा नभएको र भोज तथा अन्य खर्चका लागि छुट्याएको रकम भूकम्पपीडितका लागि प्रदान गरिएको बताउनुभयो ।

नाकामुरा केनिची कर्पोरेसनको सहयोग
जापानमा अवस्थित नाकामुरा केनिची कर्पोरेसनले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । सो संस्थाले १६ हजार ६६७ अमेरिकी डलर सहयोग गरेको हो । रासस

तपाइँको प्रतिक्रिया ।