सुरक्षित घरको खोजीमा सर्वसाधारण
काठमाडौँ । भूकम्पका कारण काठमाडौँसहित देशका विभिन्न जिल्लामा घर भत्किएपछि यतिखेर सुलभ र सुरक्षित घर निर्माणप्रति सर्वसाधारणको चासो बढेको छ । भूकम्पको जोखिमको मारमा सर्वसाधारण परिरहेका अवस्थामा सुलभ र सुरक्षित घर सम्बन्धमा पुल्चोक इन्जिनियरिङ कलेज ललितपुरमा आयोजित प्रदर्शनीमा जिज्ञासुको निकै चाप देखिएका छन् । प्रदर्शनीमा विभिन्न कम्पनीलाई घरका नमुनासहित जानकारी गराउन यतिखेर भ्याइनभ्याइ भएको छ ।
एउटा परिवारका लागि बस्न हुने भूकम्प जोखिम नहुने लगभग रु पाँच लाखदेखि धेरै मूल्यसम्मका घरका नमुना प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा काठमाडौँ विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानतर्फका विद्यार्थीका साथै उपत्यकाका विभिन्न क्याम्पसका विद्यार्थीले पनि सुलभ र सुरक्षित भूकम्प प्रतिरोधी घर बनाउने जानकारी गराइरहेका छन् । एडभान्स इन्जिनियरिङ कलेजमा बिइ चौथो सेमेस्टरमा अध्ययनरत क्षितिज कार्कीका अनुसार प्रदर्शनीमा स्थानीय सामग्रीको प्रयोगबाट घर बनाउने सम्बन्धमा सर्वसाधारणलाई जानकारी गराएको छ ।
“स्थानीय सामग्रीको प्रयोगबाट बन्ने घर अन्य घरभन्दा सुलभ हुन्छ । हाम्रा गाउँ ठाउँमा उपलब्ध हुने सामग्रीको अधिकतम उपयोगबारे प्रदर्शनीका सहभागीलाई जानकारी गराउने गरेका छौँ । आफ्नै घर ठाउँका सामग्रीबाट बनाउन सकिने भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धमा जानकारी गराउनु नै हाम्रो प्रमुख लक्ष्य हो ।” – उहाँले भन्नुभयो ।
प्रदर्शनीमा हिमालयन क्लाइमेट इनिसिएटीभले सुरक्षित घर सम्बन्धमा सहभागीलाई जानकारी गराउँदै आएको छ ।
उक्त संस्थाका स्वयम्सेवक सञ्जय चापागाइँका अनुसार प्रदर्शनीका सहभागीलाई चार घन्टामा नै हातैले निर्माण गर्न सकिने घर सम्बन्धमा जानकारी गराएको छ ।
सुरक्षा, उपयोगिता र सहजताकाको साथ निर्माण गरिने उक्त घरको फ्रेमलाई तारको जालिले बेरिने र जसलाई त्रिपाल, प्लास्टिकको पाता वा जस्तापातालाई भित्ताको रुपमा प्रयोग गरेर तुरुन्तै प्रयोग गर्न सकिने चापागाइँले जानकारी गराउनुभयो ।
उक्त घरमा उपयुक्त समयमा स्थायी पर्खाल राख्न सकिने जानकारी गराउँदै उहाँले उक्त घरको प्रविधिबारे बुझ्न चाहनेको निकै आकर्षण बढिरहेको बताउनुभयो ।
प्रदर्शनीको सहभागी ग्रिन ट्रि डेम्लोपर्स संस्थाकी प्रमिला श्रेष्ठ तत्काल निर्माण गर्न सकिने सस्तो र सुलभ घर यतिखेर प्रदर्शनीका सहभागीको रुचिको विषय भएको बताउनुहुन्छ ।
सामान्यत एक परिवार बस्नका लागि लगभग रु पाँच लाख बराबरको लागतको घर निर्माण गर्न सकिने जानकारी गराउँदै उहाँले संस्थाका तर्फबाट सामान्य घरदेखि विद्यालयका भवन निर्माणका योजनासमेत प्रदर्शनीमा राखिएको उल्लेख गर्नुभयो ।
विशेष गरी बाँसको प्रयोगबाट बन्न सक्ने यस प्रविधिका घर र तथा भवनका लागि विभिन्न विद्यालय तथा व्यक्तिबाट कुरा आइरहेको उहाँले बताउनुभयो ।
इन्को प्यानल इन्डस्ट्रिज नेपाल प्रालिका सदस्य दिनेश पौड्यालयले संस्थाका तर्फबाट विभिन्न स्थानमा १८ वटा भवन निर्माण गर्ने तय गरिसकेको जानकारी गराउनुभयो ।
संस्थाले १०० वर्षको ग्यारेन्टीका साथ सामान्यतः एउटा परिवार बस्ने घर सम्झौता भएको ३० दिनदेखि ४५ दिनभित्रमा लगभग सात लाख लागतमा घर तथा भवन बनाइदिने योजना अघि सारेको उहाँको भनाइ छ ।
“विभिन्न व्यक्ति तथा संस्थाले घर तथा भवन बनाउने इच्छा व्यक्त गरेका छन् । सुलभ तथा सुरक्षित घर यतिखेर प्रत्येकको आवश्यकता बनेको छ । काठमाडौँका साथै काठमाडौँ बाहिरका भूकम्प प्रभावित जिल्लाबाट सुरक्षित तथा सुलभ घर निर्माणबारे बुझ्न सर्वसाधारण प्रदर्शनीमा आउने क्रम दिन प्रतिदिन बढिरहेको छ ।”– उहाँले भन्नुभयो ।
भूकम्पले सम्पूर्ण जनमानस आक्रान्त भइरहेका अवस्थामा विभिन्न संस्थाले सुरक्षित तथा सुलभ घरका सम्बन्धमा गरेको प्रदर्शनी निकै उपयोगी भएको स्याङ्जा पुतलीबजार स्थायी बसोबास भई हाल काठमाडौँमा विभिन्न व्यवसाय गर्दै आएका प्रकाश पुरीको भनाइ छ ।
“भूकम्पले घरबारविहीन भएकाका लागि सस्तो तथा सुरक्षित घरको अवधारणासहित गरिएको यो प्रदर्शनी निकै उपयोगी छ । प्रदर्शनीमा घर निर्माणका लागि स्थानीय सामग्रीको प्रयोग सम्बन्धमा पनि जानकारी गराइनुले यसको व्यावहारिक उपयोग तत्काल हुने देखिन्छ”– उहाँले भन्नुभयो ।