मरेपछि स्वर्ग पुर्‍याउने म ढोंगी होइन : नेपाल

काठमाडौं १४ जेठ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पिता मंगलकुमार उपाध्यायको जेठ ५ गते काठमाडौंमा निधन भयो। उनका दुई छोरा विनोद र सरोज अहिले संस्कारअनुसार बाबुको काजकिरिया बसिरहेका छन्।

जेठा छोरा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने पूर्ववत गतिविधिमै व्यस्त छन्। राजनीतिक बैठक, छलफल, भूकम्प प्रभावितलाई राहत वितरण आदि।
आमाको समेत परम्परागत किरिया नबसेका नेता नेपाललाई आफूले अँगालेको भौतिकवादी कम्युनिस्ट विचारधाराको बलले मात्र होइन, बाबु मंगलकुमारले पनि किरिया नबस्न छुट दिएका रहेछन्।

‘बुबाको इच्छा आफ्नो १३ दिन काजकिरिया गरियोस् भन्ने नै थियो,’ कोटेश्वर, महादेवस्थानमा रहेको किरियापुत्री भवनमा भेटिएका नेता नेपालले सम्भि्कए, ‘बाले पनि भाइहरुसँग माधवलाई छाडिदिनू भन्नुभएको थियो।’ घरका छोरीबुहारी, कान्छीबहिनीको भने किरिया बस्न अलि बढी जोड दिएका थिए रे नेपाललाई।

mangal-Nepal-6-640x330

नेपाल अहिले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण, अस्थायी टहरा तथा सिकाइ केन्द्र निर्माणका साथै राष्ट्रिय सहमति सरकार निर्माणसम्बन्धी छलफलमा सक्रिय छन्।  ‘जिन्दगीभर रुवाउने, मरेपछि स्वर्ग पुर्या्उने ढोगी म होइन,’ नेपालले भने, ‘बाँचुन्जेल राम्रोसँग र खुसी राखेँ। बाबुआमाको सेवा गरेँ। यो कर्मकाण्डमा मलाई विश्वास छैन।’

माधवका ९९ वर्षीय पिता मंगलकुमारको जेठ ५ गते बिहान कोटेश्वरस्थित नेपाल निवासमै निधन भएको थियो। पूर्वप्रधानमन्त्री नेपालले १२ वर्षअघि आमाको निधन हुँदा पनि किरिया गरेका थिएन्। आमाको किरिया नगरेकोमा केहीले उनको आलोचनासमेत गरेका थिए।
‘कसले के भने भनेर त्यसका पछाडि लाग्न सकिँदैन,’ नेपालले भने, ‘भावनात्मक रुपमा सबैभन्दा नजिक रहेका आमाबुबा गुमाउनुपर्दा कसलाई पीडा हुँदैन।’

मंगलकुमारका तीन छोराबाहेक तीन छोरी कालिका भण्डारी, इन्दिरा न्यौपाने र वसुधा पोखरेल तथा १२ नातिनातिना र नौ पनाति–पनातिना छन्।
पिता मंगलकुमार कतिपय विषयमा सुधारक भए पनि केहीमा भने निकै कट्टर रहेको ठान्छन् माधव नेपाल।
‘पछिल्लो दुई वर्ष उहाँले रोटी मात्र खानुभएको थियो,’ नेपालले भने, ‘मन परेर होला भन्ने ठानेको थिएँ। अहिले बुझ्दै जाँदा बिहे नभएकाले अरूले पकाएको भात अशुद्ध मान्नुहुने रहेछ।’
काजकिरियाको कर्मकाण्ड नगरे पनि नेपालले पोसाक भने सेतो कुर्तासुरुवाल र सेतै चप्पल लगाएका छन्। नुन पनि खाएका छैनन्।
‘पहिलेदेखि हामी घरमा नुन काम खान्थ्यौं। अहिले नुन नखाँदा फरक परेको छैन,’ उनले भने, ‘मैले सेतो कपडा नलगाए पनि कसैले बाध्य पर्दैनथ्यो होला।’

कोटेश्वरस्थित किरियापुत्री भवनमा अधिकांश मानिस पूर्वप्रधानमन्त्री नेपाललाई भेट्न जाने गरेका छन्। कोटेश्वरस्थित निवासमै बस्दै आएका उनले तिनलाई भेट्ने समय छुट्याएका छन्।
बिहान ८ बजेबाट १० बजेसम्म नेपाल त्यहीँ बस्छन्, समवेदना व्यक्त गर्न आउनेसँग भेट गर्छन्। ४ बजेदेखि नेपाल घरैमा बस्ने गरेका छन्।
यो समयमा उनी भूकम्प पीडितका लागि राहत तथा भत्केका संरचना पुनर्निर्माण तथा राजनीतिक गतिविधिबारे छलफलमा व्यस्त हुने गरेका छन्। एकमहिने स्वयंसेवक अभियानको अनुमगनका लागि सिन्धुपाल्चोकमा खटिएका छन् भने राष्ट्रिय सरकार निर्माणका लागि सबै पक्षसँग वार्ता गर्ने जिम्मेवारी पनि पाएका छन्।

नेपालले कर्मकाण्ड सुधार गरिनुपर्ने धारणा राख्छन्।  ‘तीन, पाँच वा सात दिन कति बनाउने हो, अब यसलाई सुधार गर्नुपर्ने भइसकेको छ,’ नेपालले भने, ‘प्रधानमन्त्री हुँदा पनि मैले मोदनाथ प्रश्रितलाई यो जिम्मेवारी दिएको थिएँ। यो कर्माकाण्डलाई ५ दिनमा छोट्याउनुपर्छ।’
उनले अब आफ्नो परिवारमा १३ दिन लामो काजकिरिया यही नै अन्तिम हुने पनि सुनाए।

नेपालका पिता मंगलकुमार पूर्वीय संस्कृतिका ज्ञाता थिए। रौतहटको शिक्षा क्षेत्रमा उनको योगदान उल्लेख्य छ। उनका संस्कृत व्याकरण दर्शनसम्बन्धी पुस्तक प्रकाशित छन्।
१३ औं दिन पितृप्रसादमा खर्च गर्न रकमले बाबुको नाममा साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने परिवारको योजना छ। नागरिकबाट

तपाइँको प्रतिक्रिया ।