जुरिकमा फुटबल अधिकारीहरु पक्राउ परे, विश्वकप मतदानमा छानबिन

जुरिक, १३ जेठ । सन् २०१८ तथा २०२२ का लागि विश्वकप फुटबल खेल आयोजना गर्न दिने निर्णयसम्बन्धमा स्विस सङ्घीय अधिकारीहरुले फौजदारी कारबाही आरम्भ गरेका छन । यसअघि सात फुटबल अधिकारीलाई फक्राउ गरिएको थियो र बुधबार अमेरिकामा भ्रष्टाचारसम्बन्धी छुट्टै अनुसन्धानमा १४ व्यक्तिमाथि अदालतमा आरोप लगाइएको थियो । यसले फिफालाई गम्भीर सङ्कटमा पारेको बताइएको छ ।
यसबीच फिफाले शुक्रबार हुने भनिएको अध्यक्षपदको निर्वाचन योजनाअनुसारनै हुने र सेप ब्लाटर पाँचौँ कार्यकालका लागि उम्मेदवार हुनुहुने जानकारी दिएको छ । ब्लाटरको नाम कुनै पनि अनुसन्धानमा उल्लेख भएको छैन ।

FIFA-Rocked
फिफाले सन् २०१८ मा रसियामा हुने र सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भएका निर्णयमा पुनः मतदान नगराउने जानकारी दिएको छ ।
स्विस सरकारी वकिलको कार्यालयले एक विज्ञप्ति प्रकाशन गरी आफ्नो अनुसन्धानको एक भागको रुपमा फिफाको मुख्यालयमा रहेका विद्युतीय तथ्याङ्क तथा कागजात नियन्त्रणमा लिइएको जानकारी दिएको छ । स्विस प्रहरीले सन् २०१० को डिसेम्बरमा विश्वकपका लागि भएको मतदानमा भाग लिने फिफाका कार्यकारी समितिका १० सदस्यलाई सोधपुछ गरिने जानकारी दिएको छ ।
नाम उल्लेख नगरिएका व्यक्तिमाथि गलत व्यवस्थापन तथा मुद्रा शुद्धीकरणमा फौजदारी अभियोगमा स्विजरल्यान्डमा अनुसन्धान गरिने भनाइले यस मतदानको शुद्धतामै आशङ्का उठाएको छ ।

फिफाले एक विज्ञप्ति प्रकाशन गरी यस संस्थाले अनुसन्धानमा सहयोग गरेको र यस विषयमा प्रमाण जुटाउन मद्दत गरिरहेको जानकारी दिएको छ ।
स्विस प्रहरीले जुरिकमा एक विलासी होटेलमा छापा मारी फुटबलका छ अधिकारीलाई पक्राउ गरेपछि सरकारले यो घोषणा गरेको हो । अमेरिकाले उनीहरुलाई हस्तान्तरण गर्न आग्रह गरेको छ र स्विस प्रहरीले त्यसलाई विचाराधिन अवस्थामा राखेको छ ।
अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी पक्राउ पर्नेमा फिफाका वर्तमान दुई उपाध्यक्ष किम्यान आइल्यान्डका जेफरी बेब तथा उरुग्वेका युजिनियो फिगरेडो पनि परेको जानकारी दिएको छ । पक्राउ पर्ने अन्यमा कोस्टा रिकाका एडवार्डो ली, निकारागुवाका हुलियो रोका, बेलायतका कोस्टास टाकास, भेनेजुएलाका राफेल इस्किभेल तथा ब्राजिलका होजे मारिया मारिन परेका छन् ।

यी सातै व्यक्ति उत्तरी तथा दक्षिणी अमेरिकी क्षेत्रका महासङ्घसँग आवद्ध छन् । उनीहरु ठगी गरेको आरोपमा प्रमाणित भए २० वर्षसम्मको कारावासको सजाय भोग्नुपर्ने हुन्छ ।

उनीहरुले अमेरिका तथा अन्य मुलुकमा व्यापक, प्रणालीगत तथा गहन रुपमा भ्रष्टाचार गरेको आरोप लगाइएको महान्यायाधीवक्ता लरिता ई. लिन्चले एक विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा यी व्यक्ति दुई पुस्ताका फुटबल अधिकारी भएको र उनीहरुले घुसका रुपमा दशौँ लाख अमेरिकी डलर लिन आफ्नो पदको विश्वास दुरुपयोग गरेको उल्लेख गरिएको छ ।
न्याय मन्त्रालयले आरोप लगाएका चौध व्यक्तिमध्ये नौ फुटबल अधिकारी भएको, चार कार्यकारी खेल बजार अधिकारी भएको तथा अन्यले प्रसारणको काम हेर्ने गरेको बताइएको छ । अभियोग लगाइएकामा ट्रिनिडाड तथा टोबागोबाट फिफाका उपाध्यक्ष बन्नुभएका ज्याक वार्नर पनि परेका छन् ।
स्विजरल्यान्डका सरकारी वकिलको कार्यालयले अमेरिकी अनुसन्धान आफ्नो अनुसन्धानभन्दा पृथक भएको तर अधिकारीहरु मिलेर काम गरिरहेको जानकारी दिएको छ ।

अमेरिकी मुद्दामा सन् १९९० को दशकमा अमेरिका तथा ल्याटिन अमेरिकामा भएका फुटबल खेलका लागि भएको व्यापारिक सम्झौतामा १० करोड अमेरिकी डलर भन्दा बढी घुस लिएको कुरा पनि परेको स्विजरल्यान्डको सङ्घीय न्याय कार्यालयले जानकारी दिएको छ । अमेरिकी न्याय मन्त्रालयले विश्वकपको क्वालिफाइङ खेल तथा दक्षिण अमेरिकी महादेशीय प्रतियोगिता कोपा अमेरिकाका खेलमा पनि भ्रष्टाचार भएको उल्लेख गरेको छ ।
फिफाको महासभा तथा अध्यक्ष पदको निर्वाचनका लागि दर्जनौँ फुटबल अधिकारीहरु स्विजरल्यान्डमा भेला भएका छन् । फुटबलको विश्व संस्थाको यस निर्वाचनमा ब्लाटर पुनः निर्वाचित हुनुहुने अपेक्षा गरिएको छ ।

ब्लाटरले जुरिकको बाहिरी भागमा एक होटेलमा अफ्रिकन फुटबल महासङ्घको बैठकमा भाग लिने कार्यक्रम भए पनि उहाँ त्यहाँ उपस्थित हुनुभएन ।
शुक्रबार हुने निर्वाचनमा ब्लाटरका एक मात्र प्रतिद्वन्द्वी जोर्डानका राजकुमार अली बिन अल–हुसेन रहनुभएको छ र उहाँले यो फुटबलका लागि दुःखद दिन भएको बताउनुभयो । उहाँले यस विषयमा थप टिप्पणी गर्नुभएन ।

यी अधिकारीहरुलाई जुरिकको बार औ ल्याक होटेलमा पक्राउ गरिएको थियो । यस होटेलमा फिफाका अधिकारीहरु बस्न मन पराउँथे । सन् २०१० मा सन् २०१८ तथा २०२२ का लागि हुने विश्वकप फुटबल खेलका लागि निर्णय गर्ने मतदानका लागि यहाँ विभिन्न समूहले गहन प्रयास गरेका थिए । रासस/एपी

तपाइँको प्रतिक्रिया ।