विद्यालयको कम्प्युटरको भरमा रेडियो मेलम्ची सञ्चालन

विद्यालयको कम्प्युटरको भरमा रेडियो मेलम्ची सञ्चालन

मेलम्ची, २६ वैशाख । यही वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण रेडियो मेलम्चीको स्टेसन र उपकरण क्षतिग्रस्त भएपछि अहिले विद्यालयको कम्प्युटरको सहायताले रेडियो आंशिकरुपमा सञ्चालनमा ल्याइएको छ ।

312427_491289290913843_1401483155_n

 

भूकम्पका कारण रेडियोका सम्पूर्ण सामग्री क्षतिग्रस्त हुँदा नजिकै रहेको बालसुधार उच्च माविको कम्प्युटर मागी दैनिक ६÷७ घण्टामात्रै सञ्चालन गरिएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकका विकट गाउँहरूको आवाज बन्दै आएको रेडियो बन्द हुँदा अहिले त्यस क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन् ।

“गाउँमा बत्ती छैन, टेलिभिजन हेर्न पाइँदैन, मोबाइल चार्ज गर्न पाइँदैन त्यसमाथि पनि भएको एउटा रेडियोसमेत बन्द हुँदा झनै समस्या भएको छ”–स्थानीय व्यापारी प्रकाश दाहालले भन्नुभयो ।

“सदाझैँ नियमित कार्यक्रम र समाचारको तयारीमा थियौँ, हेर्दाहेर्दै वारीपारीका घरहरू फिल्मी शैलीमा बुङबुङ आवाजमा धुलोको मुस्लोसँगै ढले, भूकम्प जाँदाको अवस्थाबारे बताउँदै रेडियोका स्टेसन मेनेजर सुवेदीले भन्नुभयो, हजाराँैको ज्यान गयो, कोही टुहुरा भए, कोही बेसहारा भए, कोही बंशमा एक्लै भए भने केहीको वंश नै नाश भयो, रेडियोमा पनि भएका सम्पूर्ण सामग्री ध्वस्त भए ।”

भूकम्पका कारण रेडियोका माइक्रोफोन, कम्प्युटर, ल्यापटप, ट्रान्स्मिटर, ब्याट्री, युपिएसलगायतका सामग्री क्षतिग्रस्त हुँदा करिब रु पाँच लाख बराबरको क्षति भएको छ । रासस

तपाइँको प्रतिक्रिया ।