लिखु तामाकोसी गाउँपालिका अध्यक्ष र दुई प्रमुख प्रशासकीय अधिकृत सहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १७।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजु प्रसाद न्यौपाने, टङ्कप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी विरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो माग दाबी आयोगले गरेको छ ।
आयोगले तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार १७८ रुपैयाँ, तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार ५०३० माग दाबी गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ४ बिजुलीकोट, वडा नम्बर ५ नागदह र वडा नम्बर १ दुरागाउँमा विद्युतीकरण गर्न उपकरण किन्दा खरिद समिति नबनाई आफू अनुकूल उपभोक्ता समिति गठन गरेर आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा अनियमितता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । खरिद गर्दा ४ करोड २१ लाख ७०६ रुपैयाँ अनियमितता भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
आरोप पत्रमा विद्युतीकरण उपभोक्ता समिति नागदहका अध्यक्ष वेदबहादुर पुवाँर, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगरविरुद्ध ३५ लाख २ हजार ६१४, सुनबहादुर तामाङ, करिष्मा परियार, दलबहादुर तामाङविरुद्ध ३७ लाख ८६ हजार ९०२ र होमबहादुर महत, अनिता श्रेष्ठ, डिल्लीबहादुर सुनुवारविरुद्ध ४२ लाख ५३ हजार ३८२ रुपैयाँ बिगो माग दाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । सोही अनियमिततामा पाइक कन्स्ट्रक्सन प्रालि महाराजगन्जका सञ्चालक अमृतबहादुर तामाङविरुद्ध पनि ४२ लाख ३५ हजारभन्दा बढी बिगो माग दाबी गरिएको छ ।
त्यस्तै काजीबाबु श्रेष्ठ, तारा गुरुङ, युवराज सुनुवारविरुद्ध १ करोड २ लाख ५१ हजार ९९५, प्रचण्ड सुनुवार, घन्टिकादेवी सुनुवार र क्याल्बु तामाङविरुद्ध ३२ लाख २९ हजार ७३८, बुद्धिबहादुर तामाङ, मेनुका खड्का र अश्विन रोकाविरुद्ध ८४ लाख ९१ हजार ६०८, अशोककुमार सुनुवार, दिलमाया थापा र प्रकाश सुनुवारविरुद्ध ६६ लाख ७० हजार ७०८, तत्कालीन लेखापाल नुर्बु लामाविरुद्ध २ करोड ९४ लाख २५ हजार २०२ र तत्कालीन प्रशासकीय अधिकृत टङ्कप्रसाद चौलागाईंविरुद्ध ३ करोड ८ लाख १८ हजार ५२८ रुपैयाँ बिगो कायम गरिएको छ