स्थानीय संगै सडक अवरुद्द गर्न पुगिन गोकर्णेश्वरकी उप प्रमुख शान्ती नेपाल
कपन अनलाइन
काठमाडौँ, चैत्र १७। गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालीकाको सिमा क्षेत्रमा रहेको जोरपाटी साँखु सडक खण्ड अवरुद्द गरिएको छ । सडक निर्माण सम्पन्न नभएपछि गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपालको नेतृत्वमा सडक अवरुद्ध गरिएको हो । आज बिहान ७ बजेदेखि उप प्रमुख सहित स्थानीयले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुलसम्मको सडक खण्डमा अवरोध गरेका हुन् । विगत ६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी-साखु सडक खण्ड अझै निर्माण सम्पन्न भइसकेको छैन ।
लामो समय देखि सडक नबन्दा धुलो र हिलोले आजित बन्दै अलपत्र सडक हेरेर वर्षौ बिताउन बाध्य बनेका आक्रोसित स्थानीयहरुले सडक अवरुद्द पारेका हुन । सडक अवरुद्द गर्न पुगेकी गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपालले ‘नगरपालिका अन्तर्गतको विकास निर्माणको काम सम्पन्न गरिसकेको बताउदै उक्त सडक संघीय बजेटबाट निर्माण भएकोले स्थानीय सरकारको केही अधिकार नभएको बताइन। उनले पटक पटक केन्द्रीय सरकार र सरोकारवालालाई ताकेता गर्दा पनि वास्ता नगरेपछि सडक नै अवरुद्ध गर्नुपर्ने अवस्था आएको जानकारी गराएकी छिन।
सो सडक खण्ड काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ । जहाँबाट नेकपा एमालेका कृष्ण राई र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चुनाव जितेका छन । स्थानीयवासी राजेन्द्र सिपाहीले सडकको दुरावस्थाबारे संघीय सांसदलाई पटक पटक जानकारी गराउँदा पनि बेवास्ता गरे पछि स्थानीयले जनप्रतिनिधिलाई अघि सारेर सडक अवरुद्ध गर्नुपरेको बताए । उक्त क्षेत्रका जनताहरुले अलपत्र सडकका कारण बहुआयमिक समस्या भोग्दै आएका छन ।