ठूला अपार्टमेन्टमा संरचनागत क्षति कम, भित्ता भने चर्किए

ठूला अपार्टमेन्टमा संरचनागत क्षति कम, भित्ता भने चर्किए

२४ वैशाख, काठमाडौ । यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पले काठमाडौँ उपत्यकाका अधिकांश ठूला अपार्टमेन्टमा संरचनागत (पिलर र बिम) क्षति कम भएपनि घर भित्रका भित्ता भने चर्किएका छन् ।

भूकम्पले धापासीको पार्क भ्यू होराइजन अपार्टमेन्टमा संरचनागत क्षति पु¥याए पनि अन्य अपार्टमेन्टमा भने घरभित्रका भित्ता मात्र चर्किएको सहरी विकास तथा भवन निर्माण विभागबाट गएको अनुगमन टोलीले जनाएको छ ।

Earthquake-3

उपत्यकाभित्रका अपार्टमेन्ट र संयुक्त आवास भवनमा भएको क्षतिका सम्बन्धमा स्थलगत अध्ययन गरी भवनको वास्तविक अवस्थाका बारेमा अहिले विभागका सिनियर डिभिजनल इन्जिनियर सागरकृष्ण जोशी संयोजकत्वको टोलीले स्थलगत रुपमा द्रुत लेखाजोखा मूल्याङ्कन गरिरहेको छ ।

टोलीले हालसम्म एक दर्जनभन्दा बढी अपार्टमेन्टको स्थलगत अध्ययन गरी रातो (बस्न नमिल्ने), पहेँलो (सामान झिक्न तथा मर्मत गरेर बस्न मिल्ने) र हरियो (बस्न मिल्ने) तीन भागमा वर्गीकरण गरी सोही किसिमका स्टिकर टाँस्ने कामसमेत सुरु गरेको सिडिइ जोशीले राससलाई जानकारी दिनुभयो ।

बुधबारदेखि अनुगमन थालेको टोलीले सर्वसाधारणको जानकारी र सावधानीका लागि धापासीको पार्क भ्यू होराइजन अपार्टमेन्टमा रातो स्टिकर टाँसेको छ भने अनुगमन गरिसकेका अन्य छ अपार्टमेन्टमा पहेँलो र पाँच अपार्टमेन्टमा हरियो स्टिकर टाँसेको सिडिइ जोशीले बताउनुभयो ।

अनुगमनपछि टोलीले चण्डोलको प्रेस्टिज, बालुवाटारको विनायक, धुम्बाराहीको ग्य्रान्ड, टोखाको ग्य्रान्डी–१, टोखाको ग्य्रान्डी–२ र हात्तिबनको सिटिस्क्याप अपार्टमेन्टमा पहेँलो स्टिकर टाँसेको छ भने भाटभटेनीको इन्दे्रणी–१, भाटभटेनीको इन्दे्रणी–२, भाटभटेनीस्थित भाटभटेनी, लाजिम्पाटको टिसिएच र धुम्बाराहीस्थित धुम्बाराही अपार्टमेन्टमा हरियो स्टिकर टाँसिसकेको छ ।

सरकारी इन्जिनियर तथा अन्य सङ्घसंस्थाका प्रतिनिधिको सहयोगमा सम्पूर्ण अपार्टमेन्टमा भूकम्पले भएको क्षतिका बारेमा अध्ययन गरी बस्न योग्य छ छैन भन्ने देखिने गरी अध्ययनको काम भइरहेको जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष इच्छाराज तामाङले राससलाई बताउनुभयो ।

“उपत्यकाका कुनै पनि अपार्टमेन्टमा न मानवीय क्षति भयो न त कुनै घर ध्वस्त भए,” अध्यक्ष तामाङले भन्नुभयो, “घरको गाह्रो मात्र चर्केको हो, संरचनागत क्षति भएको छैन ।” अध्यक्ष तामाङले भूकम्पले अपार्टमेन्टमा भएको क्षतिको विस्तृत विवरण आएपछि सरकारसँग क्षतिपूर्ति माग गर्ने बताउनुभयो ।

राजधानीका अधिकांश बहुतले ठूला भवन भूकम्प प्रतिरोधक तरिकाले डिजाइन गरिएका कारण भूकम्पबाट सुरक्षित रहेको इन्जिनियरहरुको धारणा छ ।

त्यस्तैमध्येका एक आर्किटेक्ट इन्जिनियर शिशिर उपाध्याय राजधानीका केही ठूला भवनमा भौगोलिक बनावट तथा माटो भरेको जमिनमा निर्माण भएकाले क्षति पुगेको भए पनि अधिकांश भवनमा भूकम्पले खासै क्षति नगरेको बताउनुहुन्छ ।

त्यस्ता भवनका भित्ता चर्किएका बारेमा आर्किटेक्ट इन्जिनियर उपाध्याय भन्नुहुन्छ, “ठूला भवनमा गाहे चर्किनु राम्रो कुरा हो, त्यसले घरमा थप क्षति हुन पाएन । घरलाई ध्वस्त हुनबाट भित्ताले जोगायो ।”

उपत्यकाका तीनै जिल्लामा विभिन्न व्यक्ति र कम्पनीले विभागबाट ७० अपार्टमेन्ट निर्माणका लागि स्वीकृति लिएको र त्यसमध्ये निर्माण कार्य सम्पन्न भएकामध्ये ३० भवनमा मानिस बसिसकेको विभागको तथ्याङ्क छ ।

भूकम्पले राजधानीका अपार्टमेन्ट चर्किएपछि यतिखेर त्यहाँ बसोवास भएका अधिकांश मानिस कि घर छोडेर बाहिर आफन्तको शरणमा बसेका छन् कि सोही घरमा डराएर बस्न बाध्य छन्। भीष्मराज ओझा, रासस

तपाइँको प्रतिक्रिया ।