बुढानिलकण्ठ नगरपालिकामा स्थानीय मुद्दा बोकेर निर्वाचनमा जान्छौ : महामन्त्री गगन थापा

कपन अनलाइन

काठमाडौँ चैत्र १३।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बुढानिलकण्ठ नगरपालिकामा स्थानीय मुद्दाहरु लिएर निर्वाचनमा जाने बताएका छन।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले विगत ५ वर्षमा स्थानीय सरकारले गरेका सयौ बेथितिहरुलाई जनता सामु लिएर जान नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।

बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस कमजोर नरहेको तर आफ्नै कारणले गर्दा स्थानीय तह गुमाउनु परेको भन्दै उनले अवका दिनमा पुरानो गल्ती दोहोराउने छुट नभएको धारणा राखेका थिए।

बुढानिलकण्ठ नगरपालिकाको स्थानीय सरकारले सार्वजनिक जग्गा जोगाउला भन्नु पर्नेमा उल्टै स्थानीय सरकारबाट जग्गा जोगाउन कांग्रेसले दवाव र वकालत गर्नुपरेको भन्दै थापाले सार्वजनिक सम्पत्ति दोहनलाई प्रमुख मुद्दा बनाउने संकेत दिएका थिए।

नगरपालिकाले तालिमका नाममा करोडौ रुपैया खर्च गरेर कार्यक्रम संचालन गरेपनि कुनै उपलव्धि नदेखिएको भन्दै उनले ति तालिम जनप्रतिनिधिहरुका आफ्ना मान्छेको खल्ती भर्न मात्र भएको आरोप समेत लगाएका थिए। त्यस्ता तालिममा कहाँ खर्च गरियो ? र कसले पाए ? भन्ने कुरा खोज्न र जनताका विचमा पुर्याउन नगर समितीलाई निर्देशन दिदै उनले माथि जित्ने तर तल हार्ने कसरि भयो ? भन्दै प्रश्न समेत गरेका थिए।

स्थानीय सरकार नहुँदा धेरै सपना र योजना पुरा गर्न नसकिएको र नगरपालिकाको व्यवहारले अपमानबोध भएको भन्दै उनले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण पूर्वाधार र योजनाहरु पुरा गर्न नसकेको भन्दै दुख समेत व्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।