खडेरी : डा. विदुर चालिसे (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५।
‘मुखमा अमिलो स्वाद !’
ओछ्यानमा परेकी विचरी बुढीबज्यैले छोरीलाई ओैडाहा चल्ने गरी बर्बराइन् । उनलाई मनमा धेरै समय बाँच्ने इच्छा जागेको थियो । इच्छाले मात्रै सबै कुरा नपुग्ने रहेछ । त्यसैले एक दिन उनले पर्देशिएकी एउटी छोरीलाई सम्झना गर्दै मेसेज लेखिन्, ‘प्यारी छोरी ! अब तिमी घर फर्केर आऊ ! उमेर पनि पुग्यो । दुईचार पैसा कमायौ होला । विवाह गरेर घरजम गर्नुपर्छ !’
ओछ्यानमा परेकी बुढी बज्यैको मेसेज पढ्ने बित्तिकै छोरीले आँसु खसालि– रहिन् । हातमा भएको झोला, पानीको बोतल र कागजको फाइल च्यापेर धुस्रिंदै फटाफट हिंडिन् । आकासमा घुमिरहेको राडारले उनलाई पच्छ्याएको थियो। उनको साथमा रहेका थुप्रै साथीहरू लामोलामो सास फेर्दै सिमानामा पुग्नका लागि दौडिरहेका थिए । हिड्दाहिँड्दै छोरीले आमालाई दुखले रिप्लाइ लेखिन् ।
‘आमा ! यता खडेरी चलेको छ ! दुखमा छु !’
बुढीबज्यैले मौसम परिवर्तनको आँकलन गरिन् । उनको समय हिउँदको सिरेटो चल्ने बेला थियो । चित्त बुझाएर अनभिज्ञता सँगै चुप लागिन् । उनको मनले त्यसै चुप लाग्न मानेन । उल्टै लेखिन् ।
‘घामको राप, मौसमको चाप र मनको ताप चल्यो र ?’
लक्का जवानीकी छोरीले बुढी बज्यैको कुरा पढेर कुनै जवाफ लेख्न सकिनन् । उनले निःश्वासमा केही हरफ मात्रै लेखिन् ।
‘यहाँझैँ गोला, बारूद र बमको धूवाँ उडेको छ र ?, त्यता !’
बुढीबज्यैका अगाडि घुमिरहेका मेसेजहरू थिए । उनी आत्तिन थालिन् । सोचेभन्दा बढी आफ्नो छोरीले जीवनको घटनाको खडेरी विस्फोट गरेकी थिई । अन्तिमतिर बज्यैले लेखिदिइन् ।
‘जवानीमा लज्जाको भर हुँदैन !’
खाडीको ताप, युध्दको राप र उत्पीडनको चाप परेकी उनकी छोरीको भागेर सिमानामा शरणार्थी हुन पुग्दानपुग्दै मृत्यु भयो । सनाखतसँगै गरिबकी चेलीको जीवन खडेरीले ध्वंस भयो । ल्याव परीक्षणमा भेटिएको गरिबीको योग्यताको प्रमाणपत्रले उनलाई विभूषित गरिएको थियो ।
‘बलात्कारको सिकार !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक