जान्छु आमा विदेश : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५।
१. छर्दा छर्दा श्रम पनि सधैँ पेट खाली हुने भो
कुद्दा कुद्दा वन र पहरा जीर्ण पाली सधैँको
गर्दा गर्दा दुःख हर पला आय बँच्दैन शेष
छानो फेर्ने रहर छ कतै जान्छु आमा विदेश ।
२. थोत्रो यौटा घर छ त्यसमा साहुको त्रास उस्तै
सानो टालो जमिन त्यसको आस आकाश उस्तै
कैले होला सहज जिउनै बस्छ यस्त कि देश
खाँचो टार्नै कठिन छ सधैँ जान्छु आमा विदेश ।
३. खोजी खोजीकन दिन बिते नोकरी पाइएन
डाँडा नाघ्दै भरसक बसौँ भन्दथेँ त्यो भएन
भन्थेँ गर्ने छु म दुःख यहीँ हुन्न खाई हरेश
हारेँ पग्लेँ दिन दिन उडेँ जान्छु आमा विदेश ।
४. नेता गर्छन् थरि थरि कुरा भोलि हो झन् अँधेरी
डुब्दा छाती सब विरहमा चित्त खुल्ने कसोरी ?
नानी पढ्लान् यदि धन भए लाग्छ आशा विशेष
मागौँ केही रिन म तिरुँला जान्छु आमा विदेश ।
५. आए केही धन पर पुगी छाकको हुन्छ जोहो
केही गर्ने मन पनि भए खुल्छ बाटो सधैँको
मौका पाए म श्रम गरुँला किन्तु लाग्दैन ठेश
छैनन् केही अवसर यहाँ जान्छु आमा विदेश ।
६. थाकेँ कुद्दै दशतिर कसै जिन्दगी धानिएन
माया गर्ने भनन कसले चाप्लुसी जानिएन
भन्छन् सक्दा भरसक भलो मार्गमा लाग्नु बेश
खै आशीर्वाद दिनु न उठी जान्छु आमा विदेश ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक