काठमाडौँ महानगरपालिका वडा नं ३० ज्ञानेश्वरमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र बाट सेवा शुभारम्भ
कपन अनलाइन
काठमाडौँ ,चैत्र १ । काठमाडौँ महानगरपालिका वडा नं ३० ज्ञानेश्वरमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र बाट सेवा शुभारम्भ गरिएको छ ।मङ्गलबार काठमाडौँ महानगरपालिका वडा नं ३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको पूर्व स्वास्थ्य मन्त्री एबम नेपाली काङ्ग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले उद्घाटन गरेका हुन् ।
ज्ञानेश्वरमा प्रवर्धन केन्द्र उद्घाटन गर्दै पूर्व स्वास्थ्य मन्त्री थापाले आफू स्वास्थ्य मन्त्री हुँदा काठमाडौँ महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा नागरिकलाई सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गर्ने काम अघि बढाएको बताएका थिए । उनले आफू सरकारसँग बाहिरिए सँगै सो काम अलपत्र परेको उल्लेख गर्दै हाल आफ्नै सक्रियता र स्थानीय जनप्रतिनिधिसमेतको सक्रियतामा केन्द्र सञ्चालन गर्न सफल भएको बताएका थिए ।
उनले स्वास्थ्य प्रबद्र्धनका लागि आफ्नो दुई वर्षको तलब समेत दिने घोषणा गर्दै सो केन्द्रले वडाबासीहरूको स्वास्थ्यसँग सम्बन्धित सबै विषयहरूको विवरण राख्ने, स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगहरू लाग्न नदिन जनचेतना फैलाउने र सहुलियतमा औषधिको व्यवस्था गर्ने जानकारी दिएका थिए । उनले यस्ता केन्द्र प्रत्येक वडामा हुनुपर्नेमा जोड दिदै आगामी दिनमा उक्त केन्द्र बाट फिजियोथेरापी सेवा पनि सुरु गर्ने योजना रहेको बताएका थिए ।
कार्यक्रममा मानव स्वास्थ्य संस्थाका अध्यक्ष दिपेश तामाङले शहरी स्वास्थ्य प्रवर्धन केन्द्र संचालन गर्न आर्थिक स्रोत जुटाउन कठिनाई भइरहेका बेला महामन्त्री थापाले सहयोग गरेको जानकारी गराएका थिए ।त्यसै गरि कार्यक्रममा डा. आरती शाहले जनस्वास्थ्य प्रमुखको निगरानीमा स्वास्थ्यकर्मीहरूले वडाभित्रको सम्पूर्ण घरमा गएर स्वास्थ्यसम्बन्धी अनुगमन गर्ने योजना रहेको जानकारी गराएकी थिइन । वडामा कुन रोगको समस्या छ, सो समस्या समाधानका लागि सेवा सुविधा दिइने उनले जानकारी गराइन । हाल स्वास्थ्य केन्द्रमा ९ जना कर्मचारी कार्यरत रहेको र २ जना स्वास्थ्यकर्मी वडाले खटाउने जानकारी दिदै उनीहरुले वडाका हरेक घर पुगेर स्वास्थ्य अनुगमन गर्ने जानकारी दिइन्।
अध्यक्षताको आसन बाट बोल्दै वडा अध्यक्ष दलबहादुर कार्कीले महानगरवासी स्वस्थ र स्फूर्त हुनुपर्छ भन्ने मान्यताका साथ केन्द्रको शुरूआत गरेको बताएका थिए। शहरी स्वास्थ्य प्रवर्धन केन्द्र शुभारम्भ भएपनि अन्य प्रक्रिया पुरा गरे संगै काठमाडौं महानगरपालिका प्रमुख बाट औपचारिक रुपमा उद्घाटन गर्ने योजना रहेको जानकारी गराएका थिए। कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश मुख्य सचेतक राधा घले लगायत स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।