नगर प्रमुख कृष्णहरी थापाले गरे कागेश्वरी मनोहरा नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनको अनुगमन
कपन अनलाइन
काठमाडौं फाल्गुन १७ ।कागेश्वरी मनोहरा नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनको नगर प्रमुख कृष्णहरि थापा सहितको टोलि द्वारा सोमबार अनुगमन गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको सो प्रशासकीय भवन निर्माणका लागि २०७७ मंसिर ३ गते जिल्ला समन्वय समिति काठमाडौं र कागेश्वरी मनोहरा नगरपालिका बीच सम्झौता भएको थियो । थलीस्थित कान्तिभैरव माध्यामिक विद्यालयको ७ रोपनी जग्गामा कुल ८९ हजार ३०५ वर्गफिटको भवन बन्न लागेको हो। बेसमेन्ट सहित ७ तल्ला हुने सो भवनको भुइँ तल्ला र पहिलो तल्ला व्यवसायिक प्रयोजनको लागि प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।
३२वटा साना गाडी र ४५वटा २ पांग्रे सवारी पार्किङ गर्न मिल्ने १६ हजार ६५१ वर्गफिटको बेसमेन्ट हुने उक्त भवनमा भुइँ तल्ला व्यवसायिक प्रयोजन र पहिलो तल्ला बैंकिङ प्रयोजनका लागि प्रयोग गरिने छ। दुवै तल्ला १२ हजार ७९५ वर्गफिटका रहनेछन्। यसैगरी, भवनको दोस्रो, तेस्रो र चौथो तल्ला नगरपालिकाको प्रशासनिक कार्यको लागि प्रयोग गरिने छ। भवनको पाँचौ तल्लामा भने स्टेजसहितको १७०जना अट्ने सभाहल र क्यानटिन रहने छ। अपांग मैत्री भवनको हरेक तल्लामा २वटा भर्याङ, २वटा लिफ्ट र आपतकालीन भर्याङ समेत रहने छ। आगलागीको सूचना दिने “स्मोक डिटेक्टर” र अग्नि नियन्त्रण गर्ने सामाग्री पनि भवनमा रहने नगरपालिकाले जनाएको छ।
भवनको मोहोडा मल्लकालीन शैलीमा निर्माण हुने छ। नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने बताउदै नगर प्रमुख थापाले नगरपालिकाको भवन निर्माण सम्पन्न भएपछि नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह र विकास निर्माणका कामहरुलाई अझ बढि सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् । कूल ३५ करोडको लागतमा निर्माण भैरहेको सो भवनको निर्माण कार्य जतिसक्यो छिटो सम्पन्न गर्नका लागि आफूले नियमित रुपमा अनुगमन गर्ने गरेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन् ।