बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा सुमित खरेलको उम्मेदवारी घोषणा
कपन अनलाइन
काठमाडौं,फागुन ७।
बुढानिलकण्ठ नगरपालिकाका विभिन्न सामाजिक र रचनात्मक गतिविधिमा सक्रिय रहदै आएका युवा सुमित खरेलले आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका लागि उम्मेदवारी घोषणा गरेका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को झन्डा पार्कमा प्रजातन्त्र दिवसका दिनमा आयोजना गरिएको एक कार्यक्रममा खरेलले नगर प्रमुख पदमा उठ्ने घोषणा गरेका हुन्।
लामो समय सम्म नेकपा एमालेका विभिन्न कमिटीहरुमा सक्रिय रहेका उनले पार्टीगत जिम्मेवारी र सदस्यता त्याग गर्दै स्वतन्त्र रुपमा युवा र विकासका मुद्दा उठाउने बताउदै नगर प्रमुख पदमा उम्मेदवारी घोषणा गरेका छन।
करिव ४ वर्ष बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको सचिवालयमा काम गरेका खरेलले सुचना प्रविधी व्यवस्थापनमा स्नातक गरेका छन् भने अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेका छन्।
समर्थक ,सुभचिन्तक र संचारकर्मीहरुको उपस्थितिमा उम्मेदवारी घोषणा गर्दै उनले आफूले जितेमा नगरपालिकाले लिँदै आएको व्यवसाय कर र घर बहाल कर पचास प्रतिशत घटाउने घोषणा समेत गरेका थिए।
त्यस्तै नगरवासीको गुनासो सुन्न र त्यसलाई तदारुकताका साथ कार्यान्वयन गर्न कल सेन्टर स्थापना गर्ने बताउदै खरेलले युवाहरूलाई स्वरोजगार बन्न अभिप्रेरित गर्न रोजगारीमुलक शिपको प्रबर्द्धन गर्ने, नगर भित्रको बसोबास दैनिक रूपमा साँघुरिदै र अव्यवस्थित हुँदै गएको अवस्थालाई मध्येनजर गरेर नगर विकासको दीर्घकालीन योजना ल्याईने योजना समेत सुनाएका थिए।