मधेसी आँखाबाट हेर्दा यस्तो रहेछ गच्छदारको ‘द्वैध चरित्र’

मधेसी आँखाबाट हेर्दा यस्तो रहेछ गच्छदारको ‘द्वैध चरित्र’

काठमाडौं, २७ चैत । विवादास्पद छवि र मधेश विरोधी चरित्रका धनी विजयकुमार गच्छदार पुनः धोकेबाजका संज्ञाले अलंकृत भएका छन् ।
मधेश कित्तामा प्रवेश गरेदेखि अविश्वास र धोकाको राजनीति गर्दै आएका गच्छदार सत्ताका निमित्त जोसँग र जस्तो पनि सम्झौता गर्न पछि नपर्ने नेताका रूपमा चिनिन्छन् । २०६४ साल पश्चात् पनि पटक–पटक मन्त्री बने पनि मधेशका पक्षमा कुनै उदाहरणीय सकारात्मक कार्य नगरेका कारण उनीमाथि विश्वासको वातावरण बन्न सकेको छैन । मधेश कित्ताका प्राविधिक नेता अर्थात् सत्ता समीकरणका चतुर खेलाडीका रूपमा ख्याती कमाएका गच्छदारलाई मधेश र मधेशी मुद्दासँग खासै लगाव नरहेको पाइन्छ ।

Bijay-kumar
सरकारमा जान पार्टी फुटाउने, सत्ताका लागि वाम गठबन्धनमा सामेल हुने, पदमा बसुन्जेल खसवादी चरित्र अँगाल्ने गच्छदार पहाडी दलका प्रियपात्र मानिन्छन् । मधेशी मोर्चालाई केपी ओलीसँग मिलान गराउने असफल प्रयास, ओलीले मधेशीलाई भारतीय भनी गाली गर्दा मोर्चाले संयुक्त रूपमा गरेको निर्णयको विरूद्ध ओली दर्शन गरिबसेका र ३० दलभित्र प्रचण्डलाई प्रभावित गरी आमहड्ताल फिर्ता गराउन सफल भएकै कारण आलोचित भएका छन् ।
गच्छदारमाथि आन्दोलनका विरूद्ध अभिव्यक्ति दिएर आन्दोलनकारीको मनोवल खसाएको, कांग्रेस–एमालेसँग आन्तरिक समीकरण बनाएर मधेशी मोर्चालाई आधार बनाई सत्ता साझेदार बन्न खोजेको आरोप लाग्दै छ । गत वर्ष सुशील कोइरालाको नेतृत्वको सरकारमा केही थान मन्त्री पाए कांग्रेसकै पक्षमा मतदान गर्ने मनस्थिति बनाई बसेका थिए । आफूसँग महेन्द्र राय, अनिल झा, शरत्सिंह र राजकिशोर यादवहरूलाई समेत यार पारेका थिए । तर, कोइराला गुटले कुनै पनि खालको भ्रष्टाचारीलाई सरकारमा नलिने र गच्छदार समूहलाई पटक्कै नलिने प्रष्ट सन्देश दिएपछि गच्छदार एक बिहान पेरिसडाँडा उक्लेका थिए । त्यसपश्चात् कोइराला सरकार कमजोर गर्न र एमाले (ओली) नेतृत्वको सरकार निर्माण तथा आफ्नो स्थान सुरक्षित गर्न राति–राति ओली निवास पनि धाए ।
परिणाम नकारात्मक भएपछि र ओली नेतृत्वमा सरकार नबन्ने भएपछि राष्ट्रिय सरकार वा कांग्रेस–माओवादी–फोरम लोकतान्त्रिक समीकरणको सरकारको प्रयासमा गच्छदार होमिएको दाबी स्रोतको छ । हुन त सत्ताकै निमित्त कांग्रेस छाडेको, फोरम नेपाल फुटाएको र अन्य मधेशी दल फुटाउन सहयोग गरेको आरोप गच्छदारमाथि लाग्दै आएको छ । गच्छदारले पनि आफूमाथिको आरोप खण्डन नगरेर मौनता धारण गरेको कारणले पनि थप शंका उब्जिएको छ ।
फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्षका अनुसार पार्टीले मधेशी मोर्चा छोड्ने वा सरकारमा जाने प्रश्नै आउँदैन भनी ठोकुवा गर्छन् । गच्छदारमाथिको सम्पूर्ण आरोप र शंका निराधार रहेको तथा भूराजनीति नबुझेका मोर्चाका केही नेताहरूले यस्ता आरोप लगाएको कुरा फोरम लोकतान्त्रिकका सभासद् जितेन्द्र देव बताउँछन् । देवले भने, ‘अध्यक्षज्यू (गच्छदार)ले सहमति र समझदारीबाट जनपक्षीय संविधान जारी गराउन तथा वार्ताको सम्भावनाको अन्तिम क्षणसम्म सहमतिको प्रयास गर्नुभएको हो । यसमा सत्ता स्वार्थ लुकेको छैन ।’

तपाइँको प्रतिक्रिया ।