एमसीसी सदनबाट पारित गरे नेपालको कानूनमाथि हुनजान्छः माले महासचिव सीपी मैनाली

एमसीसी सदनबाट पारित गरे नेपालको कानूनमाथि हुनजान्छः माले महासचिव सीपी मैनाली
कपन अनलाइन
काठमाण्डौ ,माघ २९।

नेकपा मालेका महासचिव सिपी मैनालीले अमेरिकी सहयोग सम्झौता एमसीसी अनुमोदन नगर्न आग्रह गरेका छन् । आज (शुक्रबार)रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै उनले एमसीसी सदनबाट पारित गर्नुनपर्ने भन्दै गरेमा देशको कानूनभन्दा माथि हुनजाने तर्क गरे ।
यस्तो खालका अनुदानलाई सदनबाट पारित गर्न नै नपर्ने उनको भनाई थियो । सदनबाट पारित गरेपछि कानुनको मान्यता दिनपर्ने उनले बताए । नेपालको संविधान, मुल कानुनहरु संसदका प्रस्तावहरु भन्दा पनि योे सम्झौतामाथ हुने तर्क गर्दै मैनालीले भने,‘नेपालको कानुन भन्दा माथि एमसीसी हुन्छ ।’
एमसीसी सम्झौतालाई नेपालमा धेरैले विरोध गरेको र थोरैले समर्थन गरिरहेको बताए । अमेरिकामा एउटा हेडक्वाटरमा तत्कालिन मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता गर्दा संसदबाट अनुमोदन गर्ने कुरा नै नलेखिएको जिकिर गरे । पछि अमेरिकाले संसदबाट पारित गर्न चिठ्ठी पठाएपछि नेपालका नेताहरु त्यसको दुष्परिणामको हेक्का नराखी संसदबाट पारित गर्न तयार भएको बताए । ‘पुरानो नजिर नहेरी यसलाई सदनबाट पारित गरेमा के हुन्छ ?’ उनले प्रश्न गरे । एमसीए एकाउण्टमा कार्यरत कर्मचारीले नेपालको नभई एमसीसी हेडक्वाटरको निर्णय मान्ने पनि उनले जिकिर गरे । ‘कुनै पनि काम गर्न परेमा नेपाललाई नसोधी एमसीएले सिधै हेडक्वाटरसँग सल्लाह गर्छ ।’ उनले भने,‘अमेरिकाको यो परियोजनाका ठेकेदारहरु डोनरले भने अनुसार हिड्छन् । परियोजना निर्माण गर्दा ल्याउने ठुला–ठुला ट्यांकरहरुलाई नेपाले जाँच्न नपाउने हुँदा कन्टेनरमा के हुन्छ त्यसमा शंका छ । अमेरिकाले हाम्रो कामदार हो भनेपछि नेपालले कामदारलाई आवासीय भिषा दिन पर्ने र उनीहरुलाई १४ वटा कर पनि छुट दिनुपर्छ ।’ त्यसरी कन्टेनर हुँदै अमेरिकाबाट हतियार, कमाण्डरहरु नेपालमा भित्रने सम्भावना रहेको उनले बताए ।
अनुदान पाउने कुरा राम्रो भएपनि अमेरिकाको ठुलो स्वार्थ रहेको उनको भनाई थियो । सडक तथा बिद्युतको आयोजना सकिएपछि संरचना कसलाई जिम्मादिने कुरा सम्झौतामा उल्लेख नगरीएको उनले बताए । अमेरिकाले बनाएका संरचनाहरु अमेरिकाको हित बाहिर प्रयोग गर्न नपाइने पनि उल्लेख भएको उनले बताए ।
‘एमसीसीले कुनै पनि योजना र कसैसँग अर्को सम्झौता गरेमा नेपालले पनि त्यसलाई मान्न पर्छ । हात्तिका देखाउने दाँत जस्तै अमेरिकाले नाटक गरिरहेको छ ।’ अमेरिकाले शत्रु देश चीनलाई अप्ठ्यारो पार्न खोजेको उनले आरोप लगाए ।

तपाइँको प्रतिक्रिया ।